

बिर्तामोड । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले झापाको बिर्तामोडमा एक समारोहको आयोजना गरि महजोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिए ।

महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो । भारतको दार्जिलिङका प्रख्यात नाटककार सिके श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो ।


अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्य उनले अहिलेसम्म पाएको मध्ये सबैभन्दा ठुलो पुरस्कार रहेको बताए । उनले आदर्श नागरिक सम्मानका रुपमा आफुलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सिके श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सिमाले छेक्न नसक्ने बताए । उनले ३२ बर्षअघि सिक्किममा महजोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको बताए । श्रेष्ठले महजोडी कलाकार वा ब्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताए ।
नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपाली भाषीले पनि दुख पाउने उल्लेख उनले गरे । ‘नेपाल जरा हो, हामी त फल र फुल मात्र हौं, श्रेष्ठले भने–‘जरा नै दुषित भयो भने फल र फूलको अवस्था ठिक हुँदैन, त्यसकारण जरा सधै सही हुनु पर्छ ।’ नेपालले प्रगति गर्दा अरु देशमा रहेका नेपालीभाषीले गौरव गर्ने गरेको उनको भनाई थियो ।

सम्मानित व्यक्तित्व मदनकृष्ण श्रेष्ठ ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको समारोहको सञ्चालन स्वस्तिका आचार्यले गरेकी थिइन् । पुर्ण–टुङग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्मानित व्यक्तित्व हरिवंश आचार्य ।

प्रमुख अतिथि सिके श्रेष्ठ ।