Aamsanchar

झापाकी रानीलाई सशस्त्र प्रहरीद्वारा छात्रवृति वितरण

Author Image
मङ्गलवार, चैत २०, २०८०

झापा – सशस्त्र प्रहरी बल नेपालले झापा गौरीगञ्जकी मुसहर समुदायकी रानी रिषिदेवलाई छात्रवृत्ति प्रदान गरेको छ। २३ औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कल्याणकारी कार्यक्रममा सीमावासीसँग सशस्त्रको सहकार्य अभियानअन्तर्गत झापा गौरीगंज गाउँपालिका–४ की गौरिया प्रावि कक्षा ३ मा अध्ययनरत मेहनती र जेहेन्दार छात्रा रानीलाई एपिएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गर्ने छात्रवृत्ति प्रदान गरिएको हो।

सोमबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले रानीलाई छात्रवृत्ति प्रदान गरेका हुन्। अति विपन्न परिवारका बुबा–आमा समेत गुमाएकी हाल दिदी– भिनाजुसँग बस्दै आएकी रानीलाई सङ्गठनले छनौट गरी छात्रवृत्ति प्रदान गरेको जनाइएको छ। संगठनले नेपालमै पहिलो पटक झापाबाट छात्रवृत्ति कार्यक्रमको सुरुवात गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति तथा प्रहरी उपरीक्षक कवीन्द्र राईले जानकारी दिए।

आमाबुबा गुमाएकी रानीको आगामी शैक्षिक यात्रा एपीएफ स्कुल हुने उनको भनाइ छ। साथै सोही कार्यक्रममा अति विपन्न १५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र र विद्यालयलाई २ थान खेलकुद सामग्री वितरण गरिएको उनले बताए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेलले देशको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा गर्ने कार्यलाई सशस्त्र प्रहरी बल, नेपालले उच्च प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आइरहेको बताए।

यसलाई थप प्रभावकारी बनाउन सीमा इलाकामा बसोबास गर्ने स्थानीय जनताको साथ र सहयोग अपरिहार्य रहने बताउँदै उनले भने, ‘सीमा बासी जनताको दैनिक जीवनमा सरोकार राख्ने विविध विषयमा सशस्त्र प्रहरीको संलग्नता भएमा सुमधुर सम्बन्ध स्थापित भई सहज र सुरक्षित वातावरण सृजना हुने छ।’ नागरिकसँगको निरन्तर सम्पर्क र समन्वय भएमा राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण गर्न सहज हुने उनको भनाई छ। यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत गत चैत ७ गतेबाट मेचीनगर नगरपालिका १ स्थित तिरिङ्गबाट संयुक्त पैदल यात्रा सुरु गरेको थियो। यो कार्यक्रममा गणले निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर