Aamsanchar

खोटाङको मझुवाभिरमा रक क्लाइम्बिङकाे सफल परीक्षण

Author Image
शुक्रवार, चैत २३, २०८०

खोटाङ-खोटाङको मझुवाभिरमा रक क्लाइम्बिङ सफल परीक्षण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित करिब २० मिटर अग्लो मझुवाभिरमा शुक्रबार रक क्लाइम्बिङ सफल परीक्षण गरिएको हो ।

जिल्ला सदरमुकाम दिक्तेल नजिकै रहेको मझुवाभिरमा रक क्लाइम्बिङ सञ्चालन गरेर पर्यटक तान्ने नगरपालिकाको योजना छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी भित्र पर्ने मझुवाभिरमा अब रक क्लाइम्बिङ सञ्चालनको बाटो खुलेको छ ।

नेपाल नेसनल माउन्टेन गाइडले उक्त रक क्लाइम्बिङ निर्माणसँगै सफल परीक्षण गरेको हो । रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोहण प्रशिक्षक संघले सात जना स्थानीय युवा र ५ जना सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरीहरुलाई ६ दिनको तालिम दिएको छ । तालिम लिएका युवाहरुले अब आफुहरुले सञ्चालन गर्न सक्ने बताएका छन् ।

गाउँ घरका प्राकृतिक भिरमा रक क्लाइम्बिङ गर्न सबैले मन पराउनेहुँदा मझुवाभिरमा निर्माण गरिएको रक क्लाइम्बिङको भविष्य राम्रो रहेको पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले बताउनुभयो ।

ऐतिहासिक मझुवागढी क्षेत्रलाई पर्यटकहरुको आकर्षक गन्तव्य बनाउन नगरपालिकाले विभिन्न संरचना निर्माण गरिरहेको छ । सोही अनुसार मझुवाभिरमा रक क्लाइम्बिङ सञ्चालन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । विशेषगरी युवाहरुको रोजाइमा रहेको रक क्लाइम्बिङले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने मेयर भट्टराईको विश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर