

बिर्तामोड । राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औं अभियान झापामा सुरु हुने भएको छ ।
बैशाख १६ गते देखि झापाका सबै पालिकाहरूमा हात्तीपाइले रोग विरुद्ध आम औषधि खुवाउने अभियान सुरु हुने आज जिल्ला समन्वय झापाको सभाहलमा आयोजित सञ्चारकर्मी सँग अन्तरक्रिया कार्यक्रममा बताएको हो ।
झापालाई हात्तीपाइले रोग उन्मूलन जिल्ला बनाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय झापाले सन् २०१२ बाट हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो । दुई दिन पछि बाट सुरु हुने औषधि खुवाउने कार्यक्रम बैशाख ३० गते सम्म सञ्चालन हुने र यो पटकको औषधि खुवाउने कार्यक्रम अन्तिम पटन हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । औषधि खुवाएको १० महिना पछि सर्वेक्षण जाँच गरेर रोग निर्मूल भए नभएको पत्ता लगाउने उनले बताए ।
स्वास्थ्य कार्यलयले यो पटक ९ लाख जनालाई औषधि खुवाउने तयारी गरेको छ ।
सन् २०१२ मा २४ प्रतिशत हात्तीपाइलेका रोगी रहेकोमा हाल ७ प्रतिशत बिरामीहरू रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा हात्ती पाईले रोग निवारण अभियानको लागि केन्द्र सरकारले १ अर्ब बजेट निकासा गरेकोमा उक्त बजेट अन्तरगत झापामा ९ करोड ९४ लाख रुपैया बजेट विनियोजन भएको थियो ।
हात्तीपाइले रोग निवारण अभियानमा खुवाइने औषधिलाई लिएर विभिन्न भ्रामक कुराहरू समाजमा फैलिएको कारण सर्वसाधारणले औषधि सेवन नगरेको कारण झापामा हात्तीपाइले रोग निवारण हुन सकेको छैन । यो अभियानमा सबैले औषधि खाए सधैँका लागि झापा हात्तीपाइले रोग मुक्त जिल्ला बन्ने स्वास्थ्य कार्यालय धनकुटाकी अधिकृत सुरक्षा केसीले बताइन ।
विश्वका ७२ वटा देशमा हात्तीपाइले रोग फेला परेको छ । हात्ती पाईले रोग निवारण अभियानबाट ३३ वटा देश हात्तीपाइले रोग उन्मूलन भइसकेको बताइएको छ ।
हात्ती पाइले रोगका कारण विश्वमा ७४ करोड जना जोखिम युक्त रहेका छन् । १२ करोड जनसंख्या संरक्षित र ४ करोड जनसंख्या अङ्गभङ्ग बनेको तथ्याङ्कले देखाएको छ । नेपालका सात वटा जिल्ला उच्च जोखिममा रहेको छ ।
कार्यक्रममा जिल्लामा शीर्ष कार्यालयका प्रमुखहरू र पत्रकारहरूलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइएको छ । कोशी प्रदेश सांसद छवि चुडाल, जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोका, जिल्ला प्रहरी कार्यालयमा प्रमुख मिलन केसी, शसस्त्र प्रहरी प्रमुख कविन्द्र राई, नेपाली सेना अरिदमन गण चारआलीका गणपति प्राजु बस्न्यात, अपराध अनुसन्धान झापाका प्रमुख कुलप्रसाद नेपाल र सहभागी पत्रकारहरूलाई हात्ती पाइले रोग विरुद्धको खुवाइएको थियो ।


हात्ती पाईले रोग लागेका पुरुषको अण्डकोष, महिलाको यौनाङ्ग सुनिने, हातखुट्टा सुनिने गर्दछ । हात्ती पाइले रोग लागेपछि उपचार हुदैन, रोग लागेमा रोग बढन नदिन र रोग लाग्नै नदिन महाअभियानको औषधि सेवन गर्नु एक मात्र विकल्प रहेको औषधि सेवन गर्न आएका मेची प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रामबाबु खड्काले बताए ।



