Aamsanchar

ब्रेथलाइजर र राडरगन नहुदाँ झापामा दुर्घटना बढ्यो, ट्राफिक प्रहरी अनुरोध पत्र लिएर चालक समक्ष

Author Image
सोमवार, वैशाख २४, २०८१

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनिकरण गर्ने उपाय तथा ट्राफिक सचेतनामूलक एवं अभिमुखीकरण कार्यक्रमलाई अभियानकै रुपमा  सुरु गरेको छ ।
बढ्दो सवारी साधनको चापका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नको लागि विभिन्न क्षेत्रमा आवद्ध नागरिकहरू समक्ष ट्राफिक प्रहरीले अभिमुखीकरण कार्यक्रमको थालनी गरेको हो ।
५ वटा फरक फरक सचेतना सामग्री तयार परेर अभिमुखीकरण सुरु गरेको ट्राफिक प्रहरीले चालक सँग  ५ मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दुईपाङ्ग्रे सवारी चालक, विद्यालयका बस चालक, चारपाङ्ग्रे सार्वजनिक सवारीका चालक, तिन पाङ्ग्रे सवारी चालक, पैदल यात्रीलाई मौखिक सचेत गराउँदै र अनुरोध पत्र पनि वितरण गर्ने कार्यलाई तिव्रता दिदै आएको हो ।

झापामा यस बैशाख महिनामा मात्र सवारी दुर्घटनाका कारण १२ जनाको मृत्यु भएको छ । यो मृत्यु दर महिना दिन भित्र भएको मृत्यु हुनेहरूको संख्या यो आर्थिक वर्षकै उच्च हो । 

यही वैशाख १९ गते बाट सुरु भएको सचेतना कार्यक्रम अन्तरगत सरकारी सवारी चालक एसोसिएसन नेपालको आयोजनामा झापा जिल्ला भरका सरकारी कार्यालयमा कार्यरत सवारी चालकहरु बिच सचेतनामूलक एवं अभिमुखीकरण कार्यक्रम ट्राफिक प्रहरी कार्यालयले सम्पन्न गरेको छ ।

त्यसैगरी न्यूटन्स् एजुकेसन एकेडेमी र तक्षशिला एजुकेसन फाउन्डेसनमा बिर्तामोड ६ का विद्यालयहरूमा कार्यरत सवारी चालक तथा सहचालकहरूलाई, कन्काई–८ लक्ष्मीपुर चौकमा “दुई पाङ्ग्रे चालक सँग ट्राफिक प्रहरीको पाँच मिनेट”  ट्राफिक सचेतनामूलक जानकारी सहित १८० थान पर्चा वितरण, मेचीनगर नगरपालिका– १३ चारआलीमा  सवारी चालक तथा स्थानीय सर्वसाधारण नागरिकहरूलाई, बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालय र निधी सेकेन्डरी स्कुलमा कार्यरत सवारी चालक तथा सहचालकहरूलाई र आज श्री अरिदमन गण चारआलीमा तालिमरत सैन्य तथा अन्य सैनिक अधिकृत तथा जवानहरूलाई  ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनिकरण गर्ने उपाय तथा ट्राफिक सचेतना बारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

झापामा सवारी दुर्घटनाको संख्या किन बढिरहेको छ भन्ने आमसंचारको प्रश्नमा निरीक्षक न्यौपानेले भने ’ हामी सँग पर्याप्त श्रोत साधन छैन । जिल्ला भरिमा जनशक्तिको अभाव त छँदै छ त्यसमा उपकरणहरू पनि छैन । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढ्दै गएको छ । मापासे गरे नगरेको जाच गर्ने ब्रेथलाइजर जम्मा जिल्लामा दुईवटा छ । द्रुत गतिमा सवारी चलाउने गर्दा दुर्घटना बढेको हाम्रो तथ्याङ्कले देखाएको छ । एउटा पनि गति मापन गर्ने राडरगन छैन । श्रोत साधन उपकरण अभावकै कारण ट्राफिक प्रहरीलाई काम गर्न सकस भइरहेको छ । श्रोत साधनको लागि विभिन्न तहहरू सँग आग्रह गरिएको छ । तर यसै आर्थिक वर्ष भित्र सहयोग प्राप्त हुने अवस्था छैन । नयाँ आर्थिक वर्षमा स्थानीय तहहरूको सहयोग रह्यो भने सवारी दुर्घटना न्यूनिकरण गर्न सहज हुने थियो । हाललाई चालकहरुलाई अनुरोध गर्नु बाहेक कुनै विकल्प छैन ट्राफिक सँग ।’

झापामा सवारी दुर्घटनाका कारण यात्रु तथा चालकको मृत्यु भइरहेको छ । सडक अस्तव्यस्त रहेको छ । सडकको समस्या ट्राफिक प्रहरीले मात्र हेर्ने हो भनेर स्थानीय सामाजिक संघसंस्था, सरोकारवाला पक्षहरू मुकदर्शक बनिरहेको अवस्था छ भन्दा फरक पर्दैन । जब सम्म सडक सुरक्षित रहदैन तव सम्म कसैले पनि म मर्दिनँ र दुर्घटनामा पार्दिन भन्ने सोच राख्नु मुर्खता हो । सडक सुरक्षाको लागि सबै पक्ष एक भएर लाग्नु पर्ने सामाजिक अभियन्ता बिनोद बस्नेतको भनाई छ । बस्नेतले थप्दै भने ‘ट्राफिक सचेतना शिक्षाको बारेमा धेरै चालकहरु अनविज्ञ रहेको पाएको छु । ट्रयाक्टर, अटो, ट्रिपर चालकलाई अलि बढी ट्राफिक नियमको बारेमा सूचित गर्न जरुरी हुन्छ ।’ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर