Aamsanchar

पश्चिम बंगाल र कोलकाताका पर्यटक मोटरसाइकलमै फालेलुङ आइपुग्छन्

Author Image
शनिवार, वैशाख २९, २०८१

फिदिम- पाँचथरको फालेलुङ गाउँपालिका आन्तरिकसँगै बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। छिमेकी मुलुक भारतको वेस्ट बङ्गाल र कोलकातासम्मका पर्यटक मोटरसाइकलमै आउन थालेपछि यो गाउँपालिका साहसिक पर्यटनको केन्द्र बनेको हो।

फालेलुङमा तीन सिमाना, फालौट, शिखरगुम, चारराते, मुवा झरना, पानावा झरना, खेवाथाम र सन्दकपुरसहित दर्जन बढी पर्यटकीय स्थल छन्।

चौँरी पालन व्यवसायको पकेट क्षेत्र समेत रहेको फालेलुङमा स्थानीय सरकार र यस क्षेत्रका पर्यटन संम्वद्व व्यक्ति र संस्थाले प्रवर्द्धन गर्न थालेसँगै यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो।

यहाँसम्म आउन भारत र नेपाल दुवै तिरबाट मोटरबाटोको सुविधा छ। भारततर्फ भने सिंहलिला नेशनल पार्कले मोटरसाइकल ल्याउन प्रतिबन्ध लगाएका कारण नेपालकै बाटो भएर यहाँसम्म भारतीय र नेपाली पर्यटक पुग्न थालेका हुन्।

शुक्रबार मात्रै सदरमुकाम फिदिम भएर वेस्ट बङ्गाल र कोलकाताका ८ जना बाइकर्स फालेलुङ पुगेका छन्। यसअघि पन्जाबबाट आएका पर्यटक समेत मोटरसाइकलमै फालेलुङ पुगेका थिए।

 

घुम्न आउने पर्यटकलाई यहाँका चौँरी गोठमा गोठ स्टे सेवा सँगै नजिकै रहेको प्राङवुङ बजारमा होम स्टे सञ्चालनमा ल्याइएको छ। यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार स्वयम् लागिपरेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो।

‘वेष्ट बङ्गालका मानिस घुम्न अत्यन्तै रुचाउँछन् र घुम्न जाने सबैभन्दा नजिक, सुरक्षित र सस्तो ठाउँ सन्दकपुर, फालोट नै हो। तर बाटो सहज नभएको साथै बाइक अनुमति नभएकोले धेरैले इच्छा मारेर बसेका छन्, बाइकबाट फालोट पुग्ने सपना पूरा भयो। अब यो रुट हुँदै धेरै बाइकर्स आउने छन्।’ कोलकाताबाट मंगलबार फालेलुङ आइपुगेका सुबेन्दु विश्वासले भन्नुभयो।

कञ्चनजङ्घा र कुम्भकर्ण आँखा अगाडि देख्दा अत्यन्तै खुसी लागेको उहाँको प्रतिक्रिया थियो। फालौट क्षेत्रबाट कञ्चनजङ्घा र कुम्भकर्ण सँगै आठ भन्दा धेरै हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ।

पछिल्लो समय झापाको काँकडभिट्टा र इलामको पशुपति नगर नाका भएर नेपाल प्रवेश गरेका बाह्य पर्यटक इलाम र पाँचथर तर्फबाट नेपालकै बाटो प्रयोग गरेर फालौट आइपुग्न थालेको फालेलुङ ४ चाररातेमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका डिल्ली केरुङको भनाइ छ।

यसरी घुम्न आएका पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने परिपाटी बसाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर