Aamsanchar

भारतीय लोकसभा अन्तर्गत आज चौथो चरणको मतदान जारी

Author Image
सोमवार, वैशाख ३१, २०८१

काठमाडौं – भारतीय लोकसभा अन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ। १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

आज समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायत १७ सय १७ उमेदवार चुनावी मैदानमा छन्। आजको चुनावमा १९ लाखभन्दा बढी मतदान केन्द्र छन्। १७ करोड ७० लाख मतदाताले मतदान गर्नेछन्। ​

लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि अप्रिल १९ देखि सुरु भएको मतदान सात चरण अर्थात् जुन १ सम्म हुनेछ। सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ।

विश्वको सबैभन्दा बढी जनसंख्या अर्थात् करिब १ अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९६ करोड ९० लाख मतदाता छन्। कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष र ४७ करोड १० लाख महिला छन्।

यो निर्वाचनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक सत्ताको बागडोर आफ्नो हातमा लिने लक्ष्यमा छन्। ​ लोकसभामा सामान्य बहुमतका लागि २ सय ७२ सिट जित्नु आवश्यक छ। मोदीको दल भाजपाले सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा ३ सय ३ सिट जितेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर