Aamsanchar

इलामका १० पालिकामध्ये सूर्योदयको बेरुजु सबैभन्दा कम

Author Image
मङ्गलवार, जेठ १५, २०८१

इलाम-इलामको सूर्योदय नगरपालिकाले इलामका १० पालिकामध्ये सबै हिसाबले अग्रस्थानमा रहेको छ । नीति नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढी रहेको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले समेत अगाडि नै रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार इलामका १० पालिकामध्ये सूर्योदय नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिकामा परेको छ । आर्थिक वर्ष २०७९/०८० को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बुरुज शून्य दशमलव शून्य सात ९०.०७५० प्रतिशत मात्र छ । चार नगरपालिका र छ गाउँपालिका रहेको इलाममा विगतका वर्षदेखि नै सूर्योदयको बेरुजु कम नै देखिँदै आएको छ ।

सूर्योदय सबैभन्दा कम बेरुजु ०.०७ प्रतिशत रहँदा इलामको माईजोगमाई गाउँपालिकामा सबै भन्दा बढी ८ दशमलव २० प्रतिशत रहेको छ । बेरुजु कम भएको दोस्रो पालिकामा माङसेबुङ गाउँपालिका शून्य दशमलव ३८ प्रतिशतमा छ । क्रमशः बेरुजु कम गर्ने पालिकामा तेस्रो स्थानमा चुलाचुली गाउँपालिका एक दशमलव १६ प्रतिशत, चौथो स्थानमा देउमा नगरपालिका एक दशमलव ५३ प्रतिशत, पाँचौँ स्थानमा माई नगरपालिका एक दशमलव ६४ प्रतिशत, छैटौँ स्थानमा फाकफोकथुम गाउँपालिका एक दशमलव ९७ प्रतिशत, इलाम नगरपालिका दुई दशमलव ५६ प्रतिशत, रोङ गाउँपालिका चार दशमलव ५६ प्रतिशत र सन्दकपुर गाउँपालिका पाँच दशमलव ५१ प्रतिशत बेरुजु रहेको छ ।

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बजेट निर्माण र कार्यान्वयनमा भएको अनुशासन पालना, कार्यक्रम कार्यान्वयन गर्न निर्देशिका तयार, शाखाबिचको समन्वय, कानुनी प्रक्रिया बाहेक कुनै दबाब नभएको र आन्तरिक लेखा परीक्षण प्रभावकारी रहेका कारण बेरुजु कम भएको बताउनुभयो । उहाँले नीति नियमको पालना गरेर काम गर्दा बेरुजु कम गर्न सकिने बताउनुभयो । सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बेरुजु शून्यमा झाने लक्ष्यका साथ नगर अगाडि बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक पारदर्शीताका लागि हामीले नीति, नियम र निर्देशिका बनाएका छौ, सबैले पालना गर्दा बेरुजु शून्यमा झान सकिन्छ ।’

आर्थिक वर्ष २०७९/०८० सूर्योदयमा एक अर्ब ३५ करोडको बजेट रहेको थियो । चालु आर्थिक वर्षमा एक अर्ब २६ करोडको बजेट भित्र काम भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा आइपुग्दा ७० प्रतिशतको हाराहारीमा काम सम्पन्न भइसकेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । नगरको आन्तरिक आम्दानी वार्षिक आठ करोड रहेको छ । नगरले आन्तरिक आम्दानी वृद्धि गर्न विभिन्न योजना निर्माण गरिरहेको जनाएको छ । गत आर्थिक वर्ष आर्थिक विकास र सुशासन तर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर