Aamsanchar

कर्नाटकमा ग्यास विस्फोट हुदाँ ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ पुग्यो

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाण्डौ – भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्यास लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए ।

घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो ।

घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार राति सबै परिवार कोठामै रहेका बेला खाना पकाउने क्रममा ग्याँस विस्फोट भएको थियो । मदनको परिवार ६ वर्षदेखि भारतमा बस्दै आएको थियो । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम र उहाँकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीलाई स्थानीय विद्यालयमा पढाउँदै आएका थिए ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको जानकारी दिनुभएको छ । परिवार सम्पर्कमा आएपछि क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्ने उहाँले बताउनुभयो । मृतकको शव व्यवस्थापनमा बेंग्लुरुमा रहेको नेपाली समुदाय र राजदूतावास मिलेर काम थालेका पनि उहाँको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर