Aamsanchar

महाकुम्भ मेलामा एक करोडभन्दा बढी भेटी सङ्कलन

Author Image
बिहिवार, जेठ २४, २०८१

वराहक्षेत्र- सुनसरीको वराहक्षेत्र मन्दिरमा एक महिनासम्म लागेको बाह्रवर्षे पूर्ण महाकुम्भ मेलामा एक करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिरमा रसिदबाट एक करोड ३० लाख ९२ हजार आठ सय ९३, गुप्तदानबाट ३२ हजार दुई सय ४३, दानपेटिकाबाट तीन लाख २६ हजार एक सय १८, वराह पुराण मण्डप भेटीबाट एक लाख ५३ हजार ८८, गुप्त वराह रसिदबाट तीन लाख ४३ हजार छ सय नौ, वराह कुण्डबाट ११ हजार दुई सय ५५ रुपियाँको नोट र सिक्काबाट दश हजार एक सय, चामल बिक्रीबाट १६ हजार दुई सय ५० भेटी सङ्कलन भएको हो ।

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा एक करोड ३९ लाख ८५ हजार पाँच सय ५६ रुपियाँ सङ्कलन भएको उल्लेख गरिएको छ । वराहक्षेत्र मन्दिरमा दर्शन र पूजापाठ गर्न पुगेका तीर्थालुहरुले एक महिनासम्म चढाएको भेटी सङ्कलन गरी सार्वजनिक गरिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । समितिले मेला सञ्चालनका लागि गरेको खर्चको विवरणसमेत सावर्जनिक गरेको छ ।

गुठी व्यवस्थापन समितिले गरेको खर्चमा गेट निर्माण गर्दा तीन लाख ३८ हजार पाँच सय ९९, टेन्ट पाल तथा सजावट खर्च एक लाख ३३ हजार सात सय, मन्दिरमा रङ्गरोगन खर्च एक लाख ६८ हजार सात सय ९३, विद्युत् व्यवस्थापन खर्च तेह्र हजार आठ सय, आवास खर्च ३६ हजार, स्टेसनरी खर्च १४ हजार एक सय २५, यातायात तथा इन्धन खर्च एक लाख २८ हजार सात सय ९०, खानेपानी व्यवस्थापन खर्च बीस हजार, इन्टरनेट खर्च तीन हजार, ब्यानर छपाइ खर्च एक लाख १० हजार ७०, दुई लाख १० हजार दुई सय, फर्निचर खर्च एक लाख ५४ हजार, अतिथि सत्कार खर्च पाँच लाख ४७ हजार नौ, सम्मानपत्र निर्माण खर्च ४९ हजार पाँच सय, स्नानघाट तथा शौचालय निर्माण खर्च ३३ हजार, नैमती बाजा खर्च सात हजार पाँच सय, स्वास्थ्य खर्च ३२ हजार दुई सय, साउण्ड सिस्टम भाडा एक लाख १२ हजार, अप्रेटर खर्च ३४ हजार, सि। सी। क्यामेरा जडान खर्च एक लाख ३६ हजार, काउन्टर सञ्चालन खर्च पाँच लाख ३३ हजार, भोजन तथा भण्डारण खर्च ३६ लाख ९ हजार एक सय ६२, अनुदान सहयोग गुप्ता वराह १२ लाख ६४ हजार नौ साय ९९ भएको हिसाब सार्वजनिक गरिएको छ । समितिले ४४ लाख ६६ हजार पाँच सय सात रुपियाँको खर्च विवरण सार्वजनिक गरेको हो ।

भेटीबाट सङ्कलन भएको रकमबाट मेलामा भएको खर्च कटाएर बाँकी रहेको रमकले वराहक्षेत्र मन्दिरको बृहत् गुरुयोजना बनाएर मन्दिरकै विकासको निमित्त रकम खर्च गरिने गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट आध्यात्मिक विकासको क्षेत्रमा लगानी गर्ने समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुभयो । समितिका अध्यक्ष श्रेष्ठका अनुसार वराहक्षेत्र मन्दिरको लक्षित कार्यक्रमका शीर्षकहरुमा समेत रकम खर्च गरिने छ । मन्दिर क्षेत्रमा रहेको जीर्ण सार्वजानिक शौचालय, धर्मशाला, श्राद्धस्थल, विश्रामालय, गौशाला निर्माण, अनाथ आश्रमलगायतका क्षेत्रमा काम गर्दै जाने बताइएको छ ।

प्राचीन पूर्वीय संस्कृति तथा परम्पराअनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् । सत्ययुगमा डुब्न लागेको पृथ्वीलाई भगवान् वराहले जङ्गली जनावर बँदेलको रूप धारण गरी संसारभरका प्राणीहरूको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दुशास्त्रमा उल्लेख छ । पौराणिक कथा अनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर