Aamsanchar

मकैखेतीमा अमेरिकन फौजी किरा फैलियो

Author Image
बुधवार, असार १९, २०८१

बैतडी – बैतडीका विभिन्न स्थानका किसानले गरेको मकैखेतीमा अमेरिकन फौजी किराले आक्रमण गरेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी किराले आक्रमण गरेको हो।

मुख्य खाद्यबाली रहेको मकैमा अमेरिकन फौजी किराले आक्रमण गर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। किराले मकैका बोटहरु सखाप पारेको दोगडाकेदार गाउँपालिका-५ न्वालीका किसान मदनसिंह कार्कीले बताए। मकै लगाएकै वेलादेखि फौजी किराले बालीमा क्षति पुर्‍याउन थालेको छ।

उनले भने, “किराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। किराले खेतमा लगाइएको मकै नष्ट गर्न थालेपछि समस्या भएको छ। किरा नियन्त्रणका लागि बिषादी उपलब्ध गराईदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ।”

विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएपछि अनुगमन र बिषादी वितरण भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताइन्।

उनले भनिन्, “किसानहरुले फौजी किराले मकैमा आक्रमण गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौँ।”

समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी किरा बढी सक्रिय हुने गरेको छ। मकैको पकेट क्षेत्रमै किराले मकै नोक्सान गरेको हो।

दिनभरि बोटमै लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्छ।

पालिकाका विभिन्न वडामा अमेरिकन फौजी किराको प्रकोप देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताए।

रिम, कालागाउँलगायत ठाउँका किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी गराएका छन्।

उनले भनिन्, “मकैमा फौजी किराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन गरि बिषादीको व्यवस्था गरेको छौँ।”

फौजी किरा राति बढी सक्रिय हुने गरेकाले प्रकोप देखिएको ठाउँमा बिषादीको प्रयोग गर्न आवश्यक रहेको भट्टको भनाई छ।

४ वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए।

उनले भने, “मकैमा फौजी किराको प्रकोप प्रत्येक सिजनमा देखापर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा स्टेजबाटै मकैको बोट खान थाल्छ। नियन्त्रण गर्न कठिन हुने गरेको छ।”

पालिकाको कृषि शाखाहरुको समन्वयमा किसानहरुलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ। इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक बिषादी वितरण गर्ने र एकजना किसानले मात्रै बिषादी प्रयोग गरेर नहुने भएकोले प्रकोप देखिएका सबै बारीमा बिषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने जनाइएको छ।

माटोको उपचार गरेर पनि फौजी किराको प्रकोप हटाउन सकिने प्रमुख चौधरीको भनाई छ। फौजी किराको प्रकोप देखा परेकोले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ।

बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको भए पनि जंगली जनावर, विभिन्न रोग‚ किरा, बसाइसराइका कारण हाल ५ हजार ४ सय हेक्टर जमिनमा मात्रै मकै खेती गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर