झापा । बिर्तामोड – झापाको बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण भएको भव्य गायत्री माता मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा माघ महिनामा विशेष धार्मिक कार्यक्रमका साथ सम्पन्न हुने भएको छ।

माघ १७ गते अग्रसेन भवन परिसरबाट निशान यात्राको आयोजना गरिने तयारी गरिएको छ। सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुने जानकारी आयोजक समितिले दिएको छ। माघ २० गते नेपालका प्रथम जगद्गुरु अनन्त विभूषित बालसन्त मोहनशरण देवाचार्यले विशेष प्रवचन दिने कार्यक्रम रहेको छ।
माघ २१ गते विहान शोभायात्रापछि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्दिरको उद्घाटन गर्नेछन्। त्यसपछि धार्मिक गुरुहरूले गायत्री माता प्रतिमाको प्राणप्रतिष्ठा गर्नेछन्।
२ करोड ५० लाख लागतमा निर्माण
स्थानीय दाताबाट प्राप्त ५ धुर र समितिले खरिद गरेको ५ धुर जग्गामा निर्माण गरिएको मन्दिर करिब २ करोड ५० लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ। कोशी प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ भने बिर्तामोड नगरपालिकाले १५ लाख प्रदान गरेको छ। बाँकी रकम स्वेच्छिक दाताहरूद्वारा जुटाइएको कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए।

पाँच दिने धार्मिक कार्यक्रम
उद्घाटनका अवसरमा माघ १७ देखि २१ गतेसम्म पाँच दिने धार्मिक कार्यक्रमको आयोजना गरिनेछ। यस अवधिमा संध्याकालीन भजन, कीर्तन, महाप्रसाद वितरणका साथै नेपाल र भारतका ख्यातिप्राप्त भजन गायकहरूको प्रस्तुति रहनेछ। भजनकीर्तनमा कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपूत र नेहा सिंह राजपूतको विशेष प्रस्तुति हुनेछ।
हरिद्वार र शान्तिकुञ्जबाट आउने धार्मिक गुरुहरूले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म पूजा, अर्चना र विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्नेछन्।


पौराणिक र आधुनिक कलाको सम्मिश्रणमा निर्माण भएको यो मन्दिर बिर्तामोडमा रहेको पहिलो गायत्री माता मन्दिर हो। गायत्री माता हिन्दु धर्ममा जननीका रूपमा मानिन्छिन्। ऋषि विश्वामित्रले गायत्री मन्त्रको प्रचलनमा ल्याएको किंवदन्ती छ।
गायत्री माता मन्दिर सेवा समितिका अनुसार झापामा यसअघि मात्र ३ वटा गायत्री मन्दिर थिए। यो मन्दिर पूर्वको धार्मिक पर्यटकका लागि विशेष गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन सबै भक्तजनलाई उपस्थितिका लागि आयोजक समितिले अनुरोध गरेको छ।
गायत्री माता पूजा र महत्व
गायत्री माता पूजा विशेष गरी ज्ञान, शान्ति र आध्यात्मिक उन्नतिका लागि गरिन्छ। गायत्री मन्त्रको जपले मन शुद्ध हुने, ज्ञानको प्राप्ति हुने र मानसिक स्थिरता प्रदान गर्ने विश्वास गरिन्छ।
गायत्री मातालाई श्रद्धा र विश्वासका साथ पूजा गर्दा जीवनमा सकारात्मक ऊर्जा आउने र कठिनाइहरू समाधान हुने मान्यता छ। हिन्दू धर्मग्रन्थहरूका अनुसार, गायत्री माताको आराधनाले सबै दुःखहरूबाट मुक्ति प्राप्त गर्न सकिन्छ।
उहाँको पूजा विशेष गरी विद्यार्थीदेखि साधुसन्तसम्म सबैका लागि लाभकारी मानिन्छ। गायत्री माता समर्पण, पवित्रता र धर्मको मार्गमा चल्ने प्रेरणाका स्रोत हुन्।



