Aamsanchar

नेपाली चिया संकटमा : सरकारसँग ठोस पहलको माग

Author Image
शुक्रवार, माघ ११, २०८१

बिर्तामोड । भारतले नेपालबाट आयात हुने चियालाई अनिवार्य अक्सन प्रणालीमा राख्ने नयाँ व्यवस्था लागू गर्न खोजेपछि नेपाली चिया उद्योग संकटमा पर्ने चिन्ता चिया उत्पादकहरूले व्यक्त गरेका छन्। झापा र इलामका चिया उत्पादक, व्यवसायी, र सरोकारवालाहरूले शुक्रबार बिर्तामोडमा छलफल गर्दै सरकारलाई तत्काल कदम चाल्न दबाब दिएका छन्।

भारतको यो नयाँ प्रस्तावले नेपाली चियाको मुख्य बजार भारतमै ठुलो अवरोध खडा गर्ने देखिएको छ। यदि भारतीय अक्सन प्रणाली लागू भयो भने नेपालको अर्थोडक्स र सिटिसी चिया निर्यातमा गम्भीर असर पर्नेछ। भारतीय अक्सन प्रक्रियाका कारण चियाको गुणस्तर परीक्षण, गोदाममा भण्डारण, र विक्री प्रक्रियामा हुने झन्झटले नेपाली चियालाई निरुत्साहित गराउने सरोकारवालाहरूको ठहर छ।

भारतको नियतप्रति प्रश्न
चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतको यो प्रस्तावलाई नेपाली चियालाई रोक्न नियोजित प्रयासको रूपमा व्याख्या गरे। “भारतले पटक–पटक हाम्रो चिया उद्योगलाई दबाबमा पार्न विभिन्न प्रावधान अघि सारेको छ। अबको यो प्रयासले हाम्रो उद्योगलाई नै संकटमा पार्नेछ,” पराजुलीले भने।

त्यस्तै, सूर्योदय चिया उत्पादक संघका अध्यक्ष उत्तमकुमार श्रेष्ठले दीर्घकालीन समाधानको खाँचो औंल्याउँदै नेपालमै अक्सन केन्द्र स्थापना गर्न सरकारलाई आह्वान गरे। “हामीले आफ्नै अक्सन प्रणाली र तेस्रो मुलुक निर्यातको विकल्प खोज्नुपर्छ, अन्यथा भारतले हाम्रो चियालाई सधैं नियन्त्रणमा राख्नेछ,” श्रेष्ठले बताए।

सरकारको भूमिका अपरिहार्य
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले भारतको प्रस्तावले नेपाली चिया उद्योगलाई नराम्ररी प्रभावित गर्ने बताए। “यस समस्याको समाधानका लागि नेपाल सरकारले भारतीय पक्षसँग स्पष्ट वार्ता गर्नुपर्छ। खाद्य तथा गुणस्तर नियन्त्रण प्रयोगशालाले प्रमाणित गरेको चियालाई भारतले स्वीकार गर्नुपर्ने नीति तय गर्नुपर्छ,” अधिकारीले जोड दिए।

प्रधानमन्त्रीलाई भेट्ने तयारी
चिया सरोकारवालाहरूले प्रधानमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न दबाब दिने तयारी गरेका छन्। काठमाडौंमै गएर सम्बन्धित मन्त्रालयसँग छलफल गरी ठोस र दीर्घकालीन समाधान खोज्ने उनीहरूको योजना छ।

नेपाली चिया उद्योगको चुनौती र समाधान
भारतमा अक्सन प्रणाली लागू भए, चिया विक्रीका लागि नेपाली उत्पादकले चिया भारतको कोलकाता, सिलिगुडी, वा गुवाहटीस्थित अक्सन बोर्डको गोदाममा भण्डारण गर्नुपर्नेछ। त्यहाँको प्रयोगशालाले परीक्षण पास नगरे चिया फिर्ता ल्याउन नपाइने र त्यहीँ नष्ट गरिने प्रावधानले नेपाली उत्पादकहरूलाई थप जोखिममा पार्नेछ।

सरकारले तत्काल कूटनीतिक पहल गर्दै भारतीय पक्षसँग संवाद गर्नुपर्ने र नेपालमै अक्सन प्रणाली लागू गर्न दीर्घकालीन योजना बनाउने आवश्यकतामा सरोकारवालाहरूले जोड दिएका छन्।

दबाब सिर्जनाका लागि एकजुट अपिल
श्रमिक नेताहरूले चिया उद्योग बचाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्। “चिया क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। यसलाई जोगाउन सबै पक्षले गम्भीरताका साथ पहल गर्नुपर्छ,” ट्रेड युनियन नेता सन्तकुमार राईले भने।

सरकारले यो समस्या गम्भीरताका साथ लिएर चिया उद्योग जोगाउनेतर्फ कदम नचालेमा ठूलो आर्थिक संकट निम्तिन सक्ने चिया उत्पादकहरूको चेतावनी छ। “अब सरकार चुप बस्न मिल्दैन। तत्काल कदम चाल्नुपर्छ,” व्यवसायीहरूको साझा भनाइ छ।

छलफलमा चिया उद्योगी तथा व्यवसायीहरु समिरकुमार पोखरेल, शिवकुमार गुप्ता, राजेन्द्रकुमार सिंह, डिल्लीराम श्रेष्ठ, गोपाल कट्टेल, महेश अर्याल, सुजन ढुंगेल, रोमन प्रसाईं, पुनम राई, ज्ञानी लिम्बू, श्रमिकहरुको तर्फबाट टे«ड युनियनका नेता सन्तकुमार राई, हेमराज खड्का, भुपाल सापकोटा, सीता सापकोटा लगायतले विभिन्न सुझाव राखेका थिए ।
छलफलको संयोजन राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड, संवाद समूह र प्रादेशिक चिया समन्वय समितिले गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर