बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको फेसबुक पोस्ट अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनले पूर्वराजसंस्थासम्बन्धी कठोर टिप्पणी गर्दै विभिन्न राजनीतिक व्यक्तिहरूमाथि कटाक्ष गरेका छन्।


संग्रौलाले आफ्नो पोस्टमा राजसंस्थाको पुनर्बहालीको पक्षमा वकालत गर्ने नेताहरूको आलोचना गर्दै लेखेका छन्, ‘कमल थापाले १६ वर्ष राजा खोजे, हार खाएर पार्टी फोरे। केसर विष्ट अझै राजा खोज्दै छन्। राजेन्द्र लिङ्देन श्री ५ श्री ५ भन्दै संसदमा छन्, तर राजालाई राष्ट्रपतिका रूपमा राख्न सक्दैनन्।’

उनले राजसंस्थालाई पुनःस्थापना गर्न खोज्ने नेताहरू निर्वाचनको समयमा मात्रै सक्रिय हुने तर बाँकी समय मौन बस्ने आरोप लगाएका छन्। साथै, उनले राजसंस्थाका पक्षधरहरूप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘मसानघाटमा राजा पुगेको १८ वर्ष भयो। मेरा बा, हजुरबुबा, आमा फर्केर आउनु र तिम्रा राजा आउनु उस्तै हो।’


संग्रौलाको पोस्टले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ। सामाजिक सञ्जालमा उनका विचारप्रति समर्थन र आलोचना दुवै उठेका छन्। कतिपयले उनको पोस्टलाई वास्तविकता प्रतिबिम्बित गर्ने भनेका छन् भने कतिपयले यो अनावश्यक उत्तेजनात्मक टिप्पणी भएको बताएका छन्।


एमालेका कट्टर कार्यकर्ता मानिने संग्रौलाको यो अभिव्यक्तिले पार्टीभित्रै पनि हलचल ल्याउन सक्ने अनुमान गरिएको छ। उनले आफ्नो टिप्पणीबारे हालसम्म थप प्रतिक्रिया दिएका छैनन्।