Aamsanchar

सूर्योदयका पशुपालक किसानलाई कृषि सामग्री वितरण

Author Image
सोमवार, जेठ १३, २०८२

इलाम- इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यक्रम अनुसार किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

नगरको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख रुपियाँबराबरको प्लास्टिक मल्चिङ, ३३९ जना किसानलाई १२ लाख रुपियाँ बराबरको टनेल, २६ जना किसानलाई १६ लाख रुपियाँ बराबरको हाते ट्याक्टर र ६३ जना किसानलाई छ लाख रुपियाँबराबरको काउम्याट वितरण गरिएको छ । यसमा नगरको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । सामग्री वितरण कार्यक्रममा नगरका उपप्रमुख दुर्गाकुमार बरालले अनुदानमा वितरण गरिएका सामग्रीको सहि सदुपयोग नभएको गुनासो आउने गरेकाले वडाको सिफारिसमा मात्र सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नगरप्रमुख रणबहादुर राईले कृषि र पशु क्षेत्रको विकास र विस्तारका लागि सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले वितरण गरिएका सामग्रीसहित सदुपयोग भए नभएको अनुगमन गरिने जानकारी दिनुभयो । सूर्योदयमा चिया, इस्कुस, आलु, अदुवा, अलैँची, अकबरे अम्लिसो जस्ता नगदे बाली उत्पादन हुने गरेको छ । यो नगरपालिका दुध उत्पादन गर्ने क्षेत्र पनि हो । नगरले यसअघि नै पशुमा लाग्ने खोरेत रोगविरुद्धको अभियान समेत सञ्चालन गरिसकेको छ ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर