




झापा-चौथो पाराबाटी आमन्त्रण अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। झापा र मोरङ जिल्लाका विभिन्न पालिकाका १२ टिमहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा कनकाई नगरपालिकाले शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो।


प्रतियोगिताको उद्घाटन खेलमा झापा गाउँपालिकालाई सहज रूपमा २-० सेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गर्यो। त्यसपछि क्वाटरफाइनलमा कनकाईले बिर्तामोड नगरपालिकामाथि पनि सोही अन्तरले विजय हासिल गर्यो। सेमिफाइनलमा मोरङको बेलबारी नगरपालिकासँग प्रतिस्पर्धा गर्दै कनकाईले ३-१ सेटको जित निकाल्दै फाइनल यात्रा तय गर्यो।

फाइनल खेल आयोजक शिवसताक्षी नगरपालिकासँग भएको थियो। कनकाईले कुनै पनि सेट नगुमाई ३-० को क्लिन सिट जित निकाल्दै उपाधि उचाल्यो। उक्त जितसँगै कनकाइ नगर प्रतियोगिताको प्रथम घोषित भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत तर्फबाट पुरस्कृत गरिएको थियो। सराेज चम्लगाई ‘म्यान अफ द म्याच’ घोषित भए भने, सन्देश आचार्य उत्कृष्ट सेटरको रूपमा चयन भए। अनिश निराैला उत्कृष्ट ब्लकर घोषित भए भने, अमृत मल्ल ठकुरीलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरियो।
प्रतियोगिताको विजेता कनकाई नगरपालिकाले नगद रु. ५०,०००/- प्राप्त गर्यो भने उपविजेता आयोजक शिवसताक्षी नगरपालिकाले नगद रु. ३०,०००/- को पुरस्कार प्राप्त गर्यो। आयोजकको भनाइअनुसार यस प्रतियोगिताले स्थानीय तहबीचको खेलकुद सम्बन्ध सुदृढ गर्नुका साथै खेलाडीको प्रतिभा उजागर गर्न मद्दत पुगेको छ।




