

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी गरेका छन्।
शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजनीतिमा युवाहरूको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए। उनले राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरूको उपस्थिति अनिवार्य रहेको बताए।

राजनीतिक दलहरूलाई युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको जिकिर गरे। घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको टिप्पणी गरे।
मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताए।



