Aamsanchar

बाँदर धपाउन सार्वजनिक बिदा दिइयो

Author Image
बुधवार, वैशाख ३०, २०८३

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बाँदरलाई सीमा कटाउन धेरै व्यक्ति खटिनुपर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा लेखिएको छ, ‘बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ ।’

नगरप्रमुख माबोहाङका अनुसार बाँदरको समस्या सतहमा सामान्य देखिए तापनि यसबाट कृषक वर्गमा व्यापक असर परेको छ । बाँदरबाट कृषिउपज जोगाउनका लागि रातदिन खेतबारी रुँघ्नुपर्ने विवशताले कतिपय बालबालिका विद्यालय जानसमेत पाएका छैनन् ।

यही बढ्दो समस्यालाई ध्यानमा राख्दै लालीगुराँस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमार्फत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रम समेत अघि बढाएको छ ।

नगरपालिकाले वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचनासहित बाँदर हेरालु समेत खटाएको छ ।

विशेष गरी जंगल नजिकका बस्तीहरूमा बाँदरको समस्या विकराल छ । नगरप्रमुख माबोहाङका अनुसार राष्ट्रिय स्तरमै दीर्घकालीन समाधान आवश्यक भए पनि तत्कालका लागि स्थानीय तहले आफ्नै स्रोतसाधन प्रयोग गरेर कृषकलाई राहत दिने प्रयास थालेको छ ।

बाँदर नियन्त्रण र खेती जोगाउन जेठ १ र २ गते ‘बाँदर लखेटी नगरपालिका सिमाना कटाउने’ विशेष अभियान सञ्चालन गरिने लालीगुराँस नगरपालिका ७ का वडाध्यक्ष तथा प्रवक्ता देवेन्द्र खड्काले बताए । बाँदर लखेट्ने अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

किसान महेन्द्र कुरुम्बाङ बाँदर समस्या केवल खेती नष्ट हुने विषय मात्र नभई यसले सामाजिक र शैक्षिक क्षेत्रमा समेत असर पर्न थालेको बताउँछन् । कुरुम्बाङ भन्छन्, ‘बाली जोगाउने कि छोराछोरी पढाउने भन्ने दोधारमा पर्न थालेका छौं । नगरपालिकाले थालेको सामूहिक अभियान तत्कालीन राहतको प्रयास भए पनि दीर्घकालीन समाधानका लागि राज्यस्तरको स्पष्ट नीति र प्रभावकारी कार्यक्रम आवश्यक देखिएको छ ।’

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर