Aamsanchar

निश्कल राईले भने : प्रधानमन्त्रीले संसद् ‘बंक’ गर्न थाल्नुभयो

Author Image
बिहिवार, वैशाख ३१, २०८३

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउने दायित्व सभामुखको भएको भन्दै ध्यानाकर्षण गराएका छन् । बिहीबार ९वैशाख ३१० बसेको प्रतिनिधिसभा बैठकमा उनले संसद्प्रति प्रधानमन्त्रीको उदासीनता लोकतन्त्रका निम्ति शुभसंकेत नहुने बताए ।

“सदन एउटा चिया चौतारी होइन, जहाँ मन लागे आउने, मन लागे बस्ने, मन लागे जाने, सदन त गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ,” राईले भने, “यो लोकतन्त्र र सदनप्रति अत्यन्त जिम्मेवारपूर्ण र लोकतन्त्रको भ्याल्युजलाई बुझ्नुभएको सत्तापक्षको एकजना माननीयको भनाइलाई मैले यहाँ सापटी लिएँ । तर, परिस्थिति यस्तो बनिरहेको छ कि आज स्वयम् सम्माननीय प्रधानमन्त्रीले गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ ।”

तर, प्रधानमन्त्रीको यस्तो कदमलाई सत्तापक्षका सांसदले सामान्यीकरणका निम्ति प्रयास गरिरहेका भन्दै उनले यसलाई दुःखद भनी टिप्पणी गरे ।

“देशको कार्यकारी प्रधानमन्त्रीले देशको गरिमामय सदनजस्तो संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, संसदीय अभ्यासप्रतिको उदासीनता होइन र सभामुख महोदय रु,” उनले भने, “अझ दुःखको कुरा, सत्तापक्षका माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नुभएको छ ।”

सभामुख डोलप्रसाद(डीपी) अर्यालले बुधबार (वैशाख ३०) भनेको ‘नीति तथा कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण दस्ताबेज हो, यो देशको रोडम्याप हो, यसलाई तीन करोड नेपालीले हेरिरहेका छन्’ भन्ने भनाइ स्मरण गराउँदै उनले प्रतिपक्षले राखिरहेको मागको औचित्य नै त्यसैले स्थापित गरेको बताए ।

“त्यसो भए त प्रतिपक्षको माग अस्वाभाविक थिएन, सभामुख महोदय । हाम्रो माग यति मात्र थियो, महत्त्वपूर्ण विषयमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री स्वयम्ले दिनुहोस्,” उनले भने, “देशभित्रै, संसद् भनवबाट केही सय मिटररमा रहनुभएको प्रधानमन्त्री उपस्थित हुनुहोस् मात्र भनेको हो ।”

उनले नेपालको संविधानको धारा ७६(१०) अनुसार प्रधानमन्त्रीलाई संसद्प्रति उत्तदायी बनाइयोस् भन्ने आफूहरूको माग यथावत् रहेको पनि बताए ।

“म यहाँ स्वर्गीय नेता प्रदिप गिरिलाई र उहाँको भनाइलाई स्मरण गर्न चाहन्छु– संसद्को बहुमत अस्थायी हो, लोकतान्त्रिक प्रतिबद्धता स्थायी हो,” उनले भने, “हामी लोकतान्त्रिक प्रतिबद्धता अक्षुण्ण रहोस् भनेर संसद्मा आफ्नो उपस्थिति जनाइरहेका छौँ ।”

 

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर