
रौतहट – सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ सितलपुर टोल नजिक नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक युवकको शव फेला परेको छ ।
मंगलबार दिउँसो करिब ३ः३० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका पुरुषलाई मृत फेला पारेको सर्लाही प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
राईका अनुसार मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन भने प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ ५ः५० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । मृतकको हातमा लगाएको बालामा ‘जगन राउत’ लेखिएको फेला परेको छ भने खल्तीबाट भारतीय १० रुपैयाँको नोट तथा २ रुपैयाँको सिक्का बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए ।


