
जनकपुरधाम – पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रहरीले म्याद थपका निम्ति जिल्ला अदालतमा पेस गरेको छ । मंगलबार (९जेठ १९) बिहान पक्राउ परेका सिंहलाई अदालतमा पेस गरिएको पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
“अहिले म्याद थपको लागि अदालतमा पेस गरेका छौँ,” डीएसपी बस्नेतले भने, “अहिले अदालतको अनुमति आइसकेको छैन । हामीले सात दिनको म्याद मागेका छौँ ।”
पर्साकै ठोरीबाट उनलाई प्रहरीले नागरिकता लिखितसम्बन्धी कसुर आरोपमा पक्राउ गरेको हो । नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध यही जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही मुद्दामा नगरप्रमुख सिंहकी कान्छी श्रीमती सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रीता भट्टराई र वीरगन्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो ।
वीरगन्ज–३ का लियाकत अलीले ०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सिंहविरुद्ध चार मुद्दा परेकामा अदालतले लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।


