Aamsanchar

रु. १० र छाप्रोबाट शुरु भएको नवज्योति प्रावि

Author Image
मङ्गलवार, असोज ४, २०७३

2१० रुपैयाँ मासिक संकलन गर्नेक्रममा ८÷१० जना बालबालिकाबाट बाल विकासको रुपमा शुरु भएको शनिअर्जुन–६ बैशावाडीस्थित नवज्योति प्राथमिक विद्यालय अहिलेको अवस्थामा आइपुग्ला भन्ने कसैले कल्पनासम्म गरेको थिएन । तर, आज स्थापनाको छोटो समयमै विद्यालयले फड्को मात्र मारेको छैन, निम्न आर्थिक अवस्था र मजदुरी गर्नेका बालबालिकाको भरपर्दो शिक्षा आर्जन गर्ने थलो बनेको छ । स्थानीय समाजसेवी, दानवीरदाताको अगुवाई र सहयोग तथा शिक्षा कार्यालयको सहयोगबाट विद्यालयले आज भौतिक रुपमा तीन वटा ब्लक र सात वटा कोठा पाएको छ ।
विद्यालयलाई स्थानीय समाजसेवी स्वर्गीय इन्द्रबहादुर थापाको स्मृतिमा उनका छोराहरु खड्ग, तिलक, राजेन्द्र र कुमारले निःशुल्क स्वरुप प्रदान गरेको पाँच कठ्ठा जग्गाका कारण विद्यालयलाई सही नेतृत्वका साथ अगाडि बढाउने र गरीब बालबालिकाको शिक्षा आर्जन गर्ने भरपर्दो थलो बनाउने स्थानीयमा जाँगर बढेको हो । विद्यालयमा अहिले एक विद्यालय सहयोगी समेत पाँच जना शिक्षक दरबन्दी तथा दुई जना सहयोगी कार्यकर्ता छन् भने बालविकासमा ४६ र १ देखि ५ कक्षासम्म १ सय १ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमेशराज भट्टराईले बताए । प्रधानाध्यापक भट्टराईका अनुसार आगामी बर्षबाट नर्सरी र कक्षा १ लाई पूर्णरुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने विद्यालयको लक्ष्य रहेको छ ।
सो लक्ष्यसहितको विद्यालय सुधार योजना सार्वजनिक गरिएको छ । बर्षे पिच्छे अंग्रेजीमाध्यमबाट १ कक्षा थप गर्दै आगामी २०८१ सालमा आधारभूत तहको कक्षा ८ सञ्चालन गर्ने लक्ष्यका विद्यालय अघि बढेको विद्यालयका अध्यक्ष जीवनकुमार खतिवडा बताउँछन् । विद्यालयमा खानेपानीको व्यवस्था भए पनि गेटको व्यवस्था नभएकोले असुरक्षित रहेको तथा खानेपानीका लागि ट्युवबेल गाडिएको व्यवस्थापन समितिका सदस्य ओमप्रकाश लुइँटेलले बताउँछन् ।
उनका अनुसार विद्यालयलाई नमूना बनाउने गरी व्यवस्थापन समितिसहित विद्यालय परिवार अग्रसर रहेको छ । त्यहाँ विद्यालय नहुँदा दैनिक ज्याला मजदुरीबाट परिवार धान्ने मजदुरका छोराछोरी शिक्षाआर्जन गर्न तीन किलोमिटरसम्म धाउनुपर्ने बाध्यता थियो । सोही समस्यालाई मनन् गरी २०५९ सालमा कठोर संघर्षपछि बालविकासको रुपमा त्यहाँ शिक्षालयको स्थापना भएको शिक्षक कमलप्रसाद भण्डारीको भनाइ छ । सो बर्ष स्थानीयले हातेमालो गरी ३०÷३२ घर संगठित भएर समाजलाई सामाजिक कार्यमा आवश्यक पर्ने भाडावर्तन लगायतका सामान जुटाइयो । प्रत्येक घर सदस्यबाट रु. १० का दरले मासिक संकलन गरी दशैंतिहारमा बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रम गर्ने लहर चल्दै जाँदा २०५९ मै शिक्षा कार्यालयबाट बालविकास केन्द्रको कोठा र सहयोगी कार्यकर्ताको कोटा प्राप्त भयो । त्यसपछि स्थानीयमा उत्साह थपियो । 1
सोहीक्रममा डिल्लीराम पौडेलको ९ धुर जग्गामा बाँस, टिनको छानोसहितको छाप्रो निर्माण गरी बर्तमान अध्यक्ष खतिवडाकै अध्यक्षतामा व्यवस्थापन समिति बनाइयो । ८÷१० जना बालबालिकाबाट शुरु भएको बालविकास आज अभाव र संघर्षकाबीच राम्रो विद्यालय बन्दै गएको स्थानीय अभिभावक बताउँछन् । विद्यालयलाई अझ भौतिकरुपमा सम्पन्न बनाउन दानवीर दाताहरुसँग विद्यालयले माग गरिरहेको शिक्षक–अभिभावक संघका अध्यक्ष डिल्लीराम सापकोटा बताउँछन् । विद्यालयको शैक्षिक गुणस्तर राम्रो रहेको बताइन्छ । शिक्षा कार्यालय लगायत उद्योगी, व्यवसायी, समाजसेवी र स्थानीय अभिभावकको उचित सहयोग र समन्वय भए विद्यालयलाई जिल्लाकै नमूना बनाउने योजनाका साथ आफूहरु अग्रसर भएको प्रधानाध्यापक भट्टराई र अध्यक्ष खतिवडाको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)