झापा । झापाका विभिन्न स्थानिय तहमा कोरोना संक्रमण बढेसँगै झापाका दुई स्थानिय निकायले आफ्नो सम्पूर्ण सेवालाई थप तीनदिनका लागि बन्द गरेका छन । बन्द गर्नेमा झापाका पुराना पालिकाहरु भद्रपुर र दमक नगरपालिका रहेका छन् ।
नगर क्षेत्रमा कोरोना संक्रमण फैलिने क्रम बढेसँगै ती नगरपालिकाले सूचना निकालेर तीन दिन कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको जनाएका हुन्।
असोज २१ देखि २३ गतेसम्म सेवा बन्द गरेको भद्रपुर नगरपालिकाले दोस्रोपटक सूचना निकालेर असोज २७ गतेसम्म सेवा बन्द गरेको जानकारी गराएको छ।
असोज २० गतेदेखि सेवा बन्द गरेको दमक नगरपालिका पनि २७ गतेसम्मका लागि बन्द गरेको उपप्रमुख गीता अधिकारीले बताइन्। उनले दमकका १० वटै वडा कार्यालय बन्द गरिएको जानकारी दिइन्।
भद्रपुर नगरपालिकाको कार्यालय र सबै ११ वटै वडा कार्यालय बन्द गरिएको छ। दुबै नगरपालिकाले अत्यावश्यक र स्वास्थ्य सेवा बाहेक विषयगत कार्यालयबाट प्रदान गरिँदै आएको सबै सेवासमेत बन्द गरेका छन्।
दमकमा हालसम्म तीनजना कोरोना कोरोना संक्रमितको मृत्यु भएको छ। दमकका १९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईले जानकारी दिए।
भद्रपुर नगरपालिकामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको नगरपालिकाका फोकलपर्सन मनोज भट्टराईले बताए। सो नगरपालिकामा १२५ जनामा संक्रमण पुष्टि भएको छ।