Aamsanchar

लक्षणसहितका कोरोना संक्रमित बढेसँगै प्रदेश १ मा आईसीयू र भेन्टिलेटरको अभाव

Author Image
सोमवार, असोज २६, २०७७

मोरङ — प्रदेश १ मा दिनहुँजसो लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । यिनै कारणले कोरोनाबाट हुने मृत्युदरसमेत बढ्दै गएको छ । सुनसरीको धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै मृत्यु भयो । यस्तै सुनसरीकै बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसन र धरान–१५ का ७० वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा आइतबार राति ज्यान गयो ।

प्रदेशमा आइतबार ६, शनिबार ३ र शुक्रबार ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल मृतकसंख्या १ सय ५ पुगेको छ । जसमा सात जनाको होम आइसोलेसन र दुई जनाको अस्पताल पुर्‍याउने क्रममा एम्बुलेन्समा मृत्यु भएको छ । यहाँ आइतबार ४ सय ९, शनिबार ५ सय ५२ र शुक्रबार ४ सय ८५ जना संक्रमित थपिएका छन् । यस प्रदेशमा ३३ ठाउँमा गरी १ हजार ५ सय ३१ शय्याका आइसोलेसन वार्ड छन् । तर आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८६ छ । जसमध्ये ५ सय ४८ जना संस्थागत आइसोलेसनमा र बाँकी संक्रमित होम आइसोलेसनमा बसेका हुन् ।

 कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ८ वटा आईसीयू र ५ वटा भेन्टिलेटर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ वटा आईसीयू र १० वटा भेन्टिलेटर, झापाको मेची अस्पतालमा पाँचवटा आईसीयू र दुईवटा भेन्टिलेटर छन् । यस्तै, निजीतर्फ विराटनगरस्थित नोबेल अस्पतालमा चारवटा आईसीयू र दुईवटा भेन्टिलेटर, विराट मेडिकलमा १८ वटा आईसीयू र सातवटा भेन्टिलेटर तथा न्युरोमा ८ वटा आईसीयू र ५ वटा भेन्टिलेटर छन् । प्रदेशमा कुल ४८ वटा आईसीयू र ३२ वटा भेन्टिलेटरको व्यवस्था छ ।

प्रदेश सरकारले जेठमै २ हजार शय्याको आइसोलेसन वार्ड बनाउने घोषणा गरेकोमा अहिलेसम्म सुरसारै देखिँदैन । आईसीयू र भेन्टिलेटर थप्नेतर्फ तत्परता छैन । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई दुई सय शय्यामा विस्तार गर्ने प्रदेश सरकारको घोषणा पनि हालसम्म पूरा भएको छैन । दसैंका लागि किनमेल गर्नेहरू स्वास्थ्य सावधानी नअपनाई बजार–पसलमा भिड लाग्ने गरेकाले अझै तीव्र रूपमा संक्रमितको संख्या बढ्ने जोखिम रहेको तर त्यसअनुसार प्रदेश सरकारको तयारी नभएको चिकित्सकहरूको भनाइ छ । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले पछिल्लो समय लक्षणसहितका संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढेको बताए । ‘लक्षणसहितका कोरोना संक्रमित र मृत्युदर वृद्धि भइरहेकाले आईसीयू र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न आवश्यक भइसकेको छ,’ उनले भने, ‘लक्षणसहितका बिरामीलाई राख्न अक्सिजनसहितको आइसोलेसन शय्या आवश्यक छ ।’ अहिलेका आइसोलेसन वार्डहरूमा पनि अक्सिजनसहितको शय्या नभएकाले लक्षणसहितका संक्रमितको उपचारमा समस्या भएको दासको भनाइ छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेको स्विकारे । ‘प्रदेश सरकारले आवश्यकताअनुसार आइसोलेसनको व्यवस्थापन गरेसँगै आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा समेत जुटेको छ,’ उनले भने, ‘स्विट्जरल्यान्ड दूतावाससँग कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक उपकरणलगायत सामग्री दिने सहमति भएकाले एकरडेढ महिनाभित्र १० वटा आईसीयू सेट आइपुग्छ ।’ यसबीचमा निजी अस्पताललाई पनि आइसोलेसनसँगै आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरेको र त्यहीअनुसार व्यवस्थापन पनि भइरहेकाले संक्रमितको उपचारमा समस्या नहुने घिमिरेले दाबी गरे ।                                                                                                                                                                                                                                                                                                         –कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर