Aamsanchar

नरवणे आज नेपाल आउँदै

Author Image
बुधवार, कार्तिक १९, २०७७

काठमाडौं – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न काठमाडौं आउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ। सोही अवसरमा राष्ट्रपतिसँग उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।

नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उनको नेपालमा हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ।

स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन्। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता हुनेछ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ। उनको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्नेछन्। जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर