Aamsanchar

बिर्तामोड नगरपालिकामा देउसी भैलो खेल्न रोक

Author Image
आइतवार, कार्तिक २३, २०७७

बिर्तामोड – कोभिड–१९ को संक्रमणको प्रकोप बिर्तामोड नगर क्षेत्रभित्र दिनानुदिन बृद्धि भई मानवीय क्षतिलाई दृष्टिगत गर्दै नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले योसहित ११ बुँदे निर्णय गरेको हो ।

समितिको बैठकले सबै पक्षसँग समन्वय गरी चाडवाडलाई एकाघरमा मात्र सीमित गरी मनाउने साथै नगरभित्र संचालित होटल, रेष्टुरेन्ट राति ८ बजेपछि बन्द गर्ने निर्णयसमेत गरेको छ । नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संचालन गर्ने गराउने, त्यसको नगर प्रमुख, उप–प्रमुख समेतको टोलीबाट अनुगमन गर्ने ,नगरभित्र रहेका यातायात कार्यालय, विद्युत प्राधिकरणजस्ता भीडभाड हुने कार्यालयबाट दिइने सेवालाई व्यवस्थित गर्न–गराउन नगर प्रमुखको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरी व्यवस्थापनको प्रवन्ध गर्ने गराउने, कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भई घरमा नै पिसिआर नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पिसिआरको दायरालाई बृद्धि गर्ने , विरामी पहिचानको लागि वडामार्फत टोल विकास संस्था परिचालन गर्ने, निःशुल्क पिसिआर टेस्टको लागि स्रोतको पहिचान गर्ने निर्णय गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । उनले हालको बिर्तामोडको वस्तुगत स्थितिबारे जिल्ला कोरोना समन्वय समितिमा जानकारी दिदै कोरोना संक्रमणको रोकथाम गर्न लकडाउन वा अन्य उपयुक्त विकल्प सहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने गरिएका समेत जानकारी दिए ।

त्यस्तै संक्रमित मृतकको दाहसंस्कारका लागि अत्यधिक मानिस भेला भई मलामी जाने परिपाटीलाई कम गर्न सबैमा आव्हान गर्ने साथै समवेदना दिन जाँदा समेत सामाजिक दुरी र सवारी मापदण्ड कायम गर्न अनुरोध गर्ने निर्णय गरिएको शिवाकोटीले बताए । यसैवीच बढ्दो कोरोना संक्रमणका कारण नगरपालिकाबाट दिइने सेवालाई आलोपालो मिलाईएको छ । आइतबार वडा नं. १ र २, सोमबार वडा नं. ३ र ४, मंगलबार वडा नं. ५ र ६, बुधबार वडा नं. ७ र वडा नं ८, विहिबार वडा नं. ९ र १० का लागि नगरपालिका कार्यालयबाट सेवा दिनेगरी पालो बनाइएको शिवाकोटीले जानकारी दिए ।

साथै नगरभित्र स्थापना भएको ५ वेडको अक्सिजनसहितको आइसोलेसन अस्पतालमा वेड संख्या थप्ने व्यवस्था मिलाई नगरभित्र रहेका निजी अस्पतालहरुसँग समन्वय र सहयकार्य गरी कोभिडका विरामीहरुका लागि छुटै भेन्टिलेटरसहितको आइसियु संचालन गर्न पहल गर्ने निर्णय गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर