Aamsanchar

कोराना नियन्त्रण हुने विश्वासमा बोकाको बलि !

Author Image
आइतवार, जेठ २, २०७८

जाजरकोट-कोराना रोकथाम तथा नियन्त्रण हुने विश्वासमा जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि(बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए ।

नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिए । उनले भने, ‘यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेका छौँ ।’

यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताए । मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए । पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उनले बताए ।

हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवताको शरणमा गएका थिए । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर