

झापा । झापाको बिर्तामोडमा रहेको प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेको छ । यो सँगै मेचीमा पहिलो मेडिकल उच्च शिक्षाको लागि विद्यार्थीहरुको लागि एक सहज र सुलभ रुपमापढन पाउने अबसर बनेको छ ।

काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सो कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको थियो । विज्ञ सम्मिलित टोलीले गत वैशाख २२ देखि २६ सम्म विश्वविद्यालयको ‘नम्स एण्ड स्ट्याण्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ मा तोकिएका मापदण्ड अनुसार कलेजको निरीक्षण गरी प्रतिवेदन बुझाएको थियो।
सोही प्रतिवेदनका आधारमा विश्वविद्यालयले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) अनुसार कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।

विश्वविद्यालको कार्यकारी परिषद्को गत वैशाख ३१ गते सम्पन्न ६२५ औँ बैठकले कलेजलाई सहमति दिने तथा सिट सङ्ख्या सहित आवश्यक स्वीकृतिको निर्णय गरिदिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार समेत गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्माद्वारा हस्ताक्षरित पत्र यही जेठ २ गते आयोगलाई पठाइएको बताइएको छ ।
सिट संख्या निर्धारण गर्न माग
कार्यकारी निर्देशक प्रसाईँले विज्ञप्तिमा एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जनाउँदै कोटा (सिट) सङ्ख्या निर्धारण गरिदिन चिकित्सा शिक्षा आयोगसँग माग गरेका छन् । उनका अनुसार पठन पाठनका लागि भवन तथा अस्पताल तयारी अवस्थामा रहेको र अध्यापन गराउने विभागीय जनशक्ति (फ्याकल्टि मेम्बर) नियुक्त हुने अवस्थामा छन्।
कलेजको धाईजनमा २२ बिघा जमिन, यसमा बनेका विशाल संरचना, विर्तामोडमा पूर्वाञ्चल क्यान्सर र बिएण्डसी अस्पताल गरी कूल ९०० शैया, ती अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०-७० संख्यामा सिटीस्क्यान तथा ४० बढी एमआरआई हुने गर्छ।
पछिल्लो समय अस्पतालले मिर्गौला तथा मुटुरोग प्रत्यारोपणको तयारी गर्दैछ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीलाई निः शुल्क सेवा समेत प्रदान गरिराखेको छ ।
साथै कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले कोरोना संक्रमितलाई उपचार गर्न २०० शैया सञ्चालनमा ल्याएको छ । भेन्टिलेटर , एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव नरहेको सो अस्पतालमा २२ कोरोना सङ्क्रमित ‘हवाई लिफ्ट’ गरी उपचार गर्न पुगेका छन्। अस्पताललले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दैछ ।
कलेजका प्राचार्य प्रा.डा. उमेश शर्माले एमबिबिएस पठन पाठनका लागि आवश्यक पूर्वाधार काठमाडौँको भन्दा उच्च र विशिष्टिकृत रहेको दाबि गरेका छन् ।
उनले भने, ’एमबिबिएस पठन पाठनका लागि तयारी पूरा भएको छ । हाम्रो पूर्वाधार एमडी/एमएसका लागि पनि छ । नीति निर्माण तहमा रहेकालाई एकपटक विर्तामोड आएर अस्पताल, उपकरण, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सहित भौतिक पूर्वाधार तथा मापदण्ड हेरिदिन आग्रह गर्छु ।’

