Aamsanchar

देउसी टोलीलाई एक लाख ५० हजार रुपैयाँ दक्षिणा !

Author Image
शनिवार, कार्तिक २०, २०७३

[लक्ष्मण ढकाल]
बिर्तामोड ।

14915591_1307132549317052_6792889668239190628_n

तपाईंले देउसी खेल्नु भएको छ ? नखेलेको भए देउसेलाई दक्षिणा त पक्कै दिनुभएको छ । देउसेलाई दिने वा पाउने दक्षिणा कतिसम्म हुनसक्छ ? एक सय, एक हजार र १०–२० हजार ।
झापा बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको देउसे टोलीलाई विराटपोखर निवासी देवेन्द्रकुमार गौतमले एक लाख ५० हजार रुपैयाँ दक्षिणा दिएका छन् । आफ्ना छोराहरुले समेत अध्ययन गरेको र आफू पनि सोही विद्यालयको शिक्षक हुँदै प्रधानाध्यापक भइसकेका गौतमले विद्यालयको भौतिक विकासका लागि छोराहरुसँग सल्लाह गरी सहयोग गरेको बताए । वीपी कोइराला क्यान्सर हस्पिटल चितवनका उपनिर्देशक डा. देजकुमार गौतम उनका जेठा छोरा हुन् भने मुकुन्द र हेमन्त बैंकका प्रबन्धका रुपमा कार्यरत छन् ।
झापाको पुरानो मध्येको एक विद्यालयका रुपमा परिचित बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले यस वर्षको तिहारलाई देउसीमय बनाएर गतिलो आर्थिक स्रोत जुटाएको छ । नेपाली सांस्कृतिक पर्व तिहारको अवसरमा खेलिने देउसीभैलोको माध्यमबाट सो विद्यालयले आठ लाख रुपैयाँभन्दा बढी आर्थिक संकलन गरेको छ ।
‘एकतामा बल हुन्छ’ भन्ने भनाइलाई विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूको नेतृत्वदायी क्षमताले धेरै शिक्षकहरुलाई संगठित गरी आयोजिना गरिएको देउसी कार्यक्रमलाई भवन निर्माण समितिका अध्यक्ष, युवा सामाजिक अभियन्ता लक्ष्मण खड्काले समर्पित, निष्पृह र परिणाममुखी सेवा गरेकै कारण विद्यालयले अपेक्षित स्रोत जुटाउन सफल भएको विद्यालय स्रोतले जनाएको छ ।
चार दिनसम्म खेलेको देउसीबाट ८ लाख ३५ हजार ६ सय ४३ रुपैयाँ संकलन भएको सहायक प्रधानाध्यापक केशव प्रसाईले जानकारी गराएका छन् । यस वाहेक केही दाताहरुले सम्मानजनक सहयोग गर्ने प्रतिबद्धता जनाएका कारण चन्दा रकम १० लाखभन्दा बढी हुने अपेक्षा गरेको अर्का सहायक प्रअ भोजराज दाहालले बताए ।
नेपाल सरकार शिक्षा मन्त्रालयको अनुदानमा निर्माणाधीन दुई तले, आठ कोठे, ६४ लाखे भवनको निर्माण सम्पन्नताका लागि थप रकम आवश्यक भएको भन्दै प्रअ लिम्बूले यो तिहारलाई देउसीमय बनाउने निर्णय गरेसँगै शिक्षकले स्वतःस्फूर्त दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेका थिए । त्यही बलमा यस क्षेत्रका दाताहरुको पहिचान गरी हतारमा देउसी कार्यक्रमको आयोजना गरिएका कारण सबै सहयोगी दाताहरु समक्ष पुग्न नसकेको भन्दै प्रअ लिम्बूले समुदायबाट सञ्चालित इतिहास बोकेको यस विद्यालयलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् ।
सरकारको मापदण्ड अनुसार निर्माण गर्नुपर्ने सो भवनको सम्पन्नताका लागि करिब एक करोड खर्च हुने बताइएको छ । सरकारको ६४ लाखको लगानी वाहेक स्थानीय सहभागिता जुटाउनुपर्ने आवश्यकता अनुसार देउसी खेल्नुपरेको भवन निर्माण समितिका अध्यक्ष खड्काले बताए । अध्यक्ष खड्काको नेतृत्वमा परिचालित देउसी टोली गत शनिबारदेखि चार दिनसम्म बेलडाँगी, चारपाने, बिर्तामोड, बुट्टाबारी हुँदै गरामनीमा समापन भएको थियो । देउसी टोलीमा विव्यस अध्यक्ष रामनारायण चौधरीसहित सदस्यहरु भक्तसिंह राजवंशी, वासुदेव माझी, पर्शु शिवाकोटीको सहभागिता थियो भने विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।

देउसी टोलीलाई हार्दिकतापूर्वक स्वागत गरेका दाताहरुले आवश्यक सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता जनाएको भन्दै निर्माणा समितिका अध्यक्ष खड्काले आफूलेसमेत शिक्षा ग्रहण गरेको विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग गर्न पाएकोमा खुशी प्रकट गरेका छन् ।
नेपाली कांग्रेस झापाका सचिवसमेत रहेका खड्काको उर्जाशील र निर्णायक नेतृत्वकै कारण विद्यालयको इतिहासमै पहिलोपटक उल्लेख्य आर्थिक संकलन गर्न सकेको प्रअ लिम्बूले बताए । केही सांसदहरुबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । तसर्थ, भवन निर्माण सम्पन्न भई छिट्टै कक्षा सञ्चालन गर्ने विश्वास जागेको छ – प्रअ लिम्बूले भने ।
२०१४ सालमा स्वीकृति प्राप्त सो विद्यालयमा हाल १५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाई भइरहेको छ । प्रअ नियुक्त भएपछि लिम्बू करिब तीन लाख रुपैयाँको निजी खर्चमा सुविधा सम्पन्न स्टेज निर्माण गरेका छन् ।
भरतबाबु प्रसाईंले निजी खर्चमा भवन बनाइदिएर औपचारिकरुपमा पठनपाठन शुरु भएको सो विद्यालयको पछिल्लो संरचनालाई गतवर्षको महाभूकम्पले क्षति पु¥याएपछि नयाँ भवन निर्माण गर्नुपरेको विद्यालयले जनाएको छ ।
देउसीभैलो कार्यक्रम गरामनी निवासी उद्यमी मनोज प्रसाईको निवासस्थलमा समापन गर्दै निर्माण समितिका अध्यक्ष खड्काले देउसी कार्यक्रम आर्थिक संकलनको माध्यम भएको भन्दै नपुग रकम स्थानीय उद्योगी, व्यापारी, समाजसेवी, दाता, पूर्वविद्यार्थीहरु लगायत सबैको हार्दिक र उदार सहयोगबाट प्राप्त हुने अपेक्षा गरेका थिए । अध्यक्ष खड्काले भने– ‘हामी सबै इच्छुक, मनकारी, सहयोगी र सहृदयी महानुभावहरु समक्ष पुग्न सकेनौं तर इतिहास निर्माण गरेको यो विद्यालयलाई सबै वर्ग, क्षेत्र, समूहबाट सद्भावपूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’

निर्माणाधीन भवनले चाँडै पूर्णता पाउनेमा आफू आशावादी रहेको भन्दै उनले सहयोग गर्नुहुने सबै दाता, टोलीमा सहभागी व्यवस्थापन समिति, प्रअ, शिक्षकप्रति आभार प्रकट गरे । अध्यक्ष खड्काले खासगरी विद्यार्थीहरुमा रहेको अतिरिक्त प्रतिभाको प्रशंसा गर्दै चाडबाडको समयमा पनि छोराछोरी पठाएर विद्यालयको भौतिक विकासमा सहयोग गर्ने अभिभावक तथा नृत्य टोलीका कलाकार विद्यार्थीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर