बिर्तामोड।
झापाका केही चिकित्सकले विरामीलाई भारत ‘रेफर’ गरी मोटो कमिशन लिने गरेको थप रहस्य उजागर भएको छ ।
झापाका चिकित्सक लक्ष्मी मैनालीले विरामीलाई भारतको शिलगढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएर कमिशन लिने गरेको पाइएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मैनालीले आफूसँग चिकित्सकीय परामर्श लिन आएका बिरामीलाई चेकजाँचका नाममा भारत रेफर गरी मोटो रकम कमिशनको रुपमा अशुल्दै आएका छन् । उनले भारतीय अस्पतालबाट २० प्रतिशतसम्म कमिशन लिने गरेका छन् ।
झापाका विभिन्न फार्मेसी तथा मेडिकल हलमा घुम्तीसेवा प्रदान गर्दै आएका डा. मैनालीले धुलावारीस्थित किरण मेडिकल हलमा स्वास्थ्योपचारका लागि आएका काँकरभिट्टाका ५३ वर्षीय लीलानाथ आङ्दाम्वेलाई सिटी स्क्यान र एमआरआईका लागि भन्दै शिलगढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएको पाइएको छ । उनले चिकित्सक आचारसंहिता विपरीत किरण मेडिकल हलको नामको लेटरप्याडमा जुपिटर एमआरआई सेन्टरको नाम नै तोकेर विरामीलाई रेफर गर्दै आएको पाइएको हो ।
चिकित्सक आचारसंहिता बमोजिम कुनै पनि चिकित्सकले प्रेसक्रिप्सनमा स्वास्थ्य संस्थाको नाम तोकेर बिरामीलाई रेफर गर्न नपाइने प्रावधान रहेको छ । तर, डा. मैनालीले आचारसंहिताको उल्लङ्घन गर्दै बिरामीलाई भारत रेफर गर्दै आएका छन् ।
हुन त यस अघि पनि झापाका केही चिकित्सकले उपचारका नाममा बिरामीलाई भारत रेफर गरी भारतीय अस्पताल तथा डाइग्नोष्टिक सेन्टर र सिटीस्क्यान सेन्टरबाट ४० प्रतिशतसम्म खाँदै आएको समाचार सार्वजनिक भएको थियो । यस अघि बिर्तामोडको एक अस्पतालमा कार्यरत अर्थाेपेडिक डाक्टर आनन्दराज खनालले भारतीय अस्पतालबाट २० प्रतिशतसम्म कमिशन लिने गरेको खुलासा गरेका थिए ।
तर, उपचारका नाममा भारत रेफर गरी चिकित्सकले कमिशन लिने गरेको कुरा आचारसंहिता विपरीत भएको चिकित्सक संघ मेचीका अध्यक्ष तथा मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्वर ठाकुरले बताए । उनले नेपालका सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने अधिकर भए पनि स्थानीयस्तरमै उक्त सुविधा उपलव्ध भएको अवस्थामा भारतीय अस्पतालमा रेफर गर्न नपाइने बताए ।
चिकित्सक आचारसंहिता अनुसार भारत रेफर गरी कमिशन खाँदै आएका मैनालीले आफूले बिरामीको जानकारीका लागि प्रेसक्रिप्सनमा नै सिटी स्क्यान सेन्टरको नाम उल्लेख गर्ने गरेको बताए । उनले भने– केही डाक्टरहरुले भारतका अस्पतालबाट कमिशन खाने गरे पनि मैले त्यस्का लागि नभई बिरामीको सुविधाका लागि भारत रेफर गरेको हुँ ।
उनले झापाका केही चिकित्सकले शिलगढीका विभिन्न अस्पतालबाट कमिशन लिँदै आएको स्वीकार गरे । यता श्रोतले डा. मैनालीले नेपाली मुलका डाक्टर सिद्धिराज शर्माले सञ्चालन गरेको उक्त जुपिटर एमआरआई सेन्टरबाट २० देखि २५ प्रतिशतसम्म कमिशन लिँदै आएको जनाएको छ ।
उनले उपचारका लागि आएका विरामीलाई नेपालकै विभिन्न अस्पतालमा उपलब्ध भएका अत्याधुनिक प्रविधिको सेवाका लागि समेत भारत रेफर गर्दै आएका छन् । तर, यस अघि कमिशन लिँदै आएका चिकित्सकलाई अहिलेसम्म मेडिकल काउन्सिलले कारवाही नगरेकाले सम्मानित पेशामा समेत कमाउ धन्दाले प्रश्रय पाएको सरोकारवालाको वुझाइ छ ।
डा. मैनालीले भारत रेफर गरेको प्रेसक्रिप्सन पूर्वाञ्चलसँग सुरक्षित छ ।
भारत रेफर
गर्न मिल्दैनः बास्कोटा
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाले चिकित्सककले नेपाल बाहिर बिरामीलाई रेफर गर्न नमिल्ने बताएका छन् ।
नेपालमा नै सेवा सुविधा छ भने त्यस्तो अवस्थामा कुनै पनि बिरामीलाई भारत लगायतका अन्य देशमा रेफर गर्न नहुने उनले बताए ।
उनले पछिल्लो समय झापामा त्यस्ता गतिविधि भइरहेको उजुरी परेकाले तत्काल छानविन गरी कारवाही अघि बढाइने बताए । त्यसका लागि छानविन टोली नै तयार पारेको उनको भनाइ छ ।