Aamsanchar

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेपाल कम्युनिष्ट पार्टी एस गठन

Author Image
आइतवार, भदौ २७, २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा ९एमाले०को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।

नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिए ।

ताप्लेजुङको अध्यक्षमा लामा

यस्तै ताप्लेजुङ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।

कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ(लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहेका छन् । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो ।

जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए ।

हुम्लामा नेता शर्माका नेतृत्वमा १०१ सदस्यीय कमिटी

सिमकोटमा नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उनी तत्कालीन एमालेका जिल्ला सचिव थिए ।शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा  तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए ।

Views: 325

प्रतिक्रिया (०)