पथरी ।
सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ भन्ने मोरङको लखन्तरीका बासिन्दालाई राम्रो जानकारी छ । गाउँमा दिनहुँजसो मानिस केही न केही बिरामी परिरहेका हुन्छन् । तर, गाउँले बिरामी पर्दा स्वास्थ्य चौकी आउँदैनन् बरु नजिकैको झोराहाट र मिलनचोकमा अवस्थित क्लिनिकतिर धाउँछन् ।
बिरामी पर्दा क्लिनिक धाउनेमध्येकै एकजना हुन भुटीदेवी ऋषिदेव । लखन्तरी गाविस–१ मा बस्ने उहाँको टोलका मानिस बिरामी पर्दा स्वास्थ्य चौकी जाँदैनन् । उहाँले आफ्नो टोलका मानिसलाई क्लिनिककै औषधिले बिसेक हुने गरेको बताउनुभयो । लखन्तरीकै चन्द्रकला मोदीलाई पनि स्वास्थ्य चौकीको औषधिभन्दा क्लिनिकतिरकै बढी प्रभावकारी हुन्छ भन्ने लाग्छ ।
मोरङको लखन्तरीमा मात्र नभएर धेरै ग्रामीण क्षेत्रमा बिरामी पर्दा मानिस सकभर स्वास्थ्य केन्द्र कमै जाने गर्छन्, गएका केही सर्वसाधारणले पनि त्यहाँबाट वितरण हुने औषधि सेवन गर्दैनन् । त्यस्ता औषधि लिन्छन् अनि घरमै थन्क्याउँछन् ।
सरकारले निःशुल्क वितरण गर्ने औषधिले काम गर्दैन् भन्ने ग्रामीण क्षेत्रमा ठूलो भ्रम रहेको छ । स्वास्य केन्द्रमार्फत सरकारले ७० थरिका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरे पनि त्यसको प्रभावकारिता माथि भने ठूलो प्रश्न चिह्न छ । उहाँले स्वास्थ्य केन्द्रबाट दिइने औषधि खाँदा रोग बिसेक हुँदैन भन्ने गाउँलेको सोचाइ रहेको बताउनुभयो ।