काठमाडौं :
नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले राष्ट्रिय समस्याहरूको ठोस समाधान हुने गरी संविधान संशोधन गर्नुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ।
सोमबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा संविधान संशोधन गर्दा मधेसी, थारु, आदिवासी, जनजाति, खस, मुस्लिम, शिल्पी(दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पीछडिएका क्षेत्रलगायतका समस्याको सम्बोधण हुने गरी संविधान संशोधन हुनुपर्ने माग गरिएको छ।
वक्तव्यमा राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नहुने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ- ‘यी महत्वपू्र्ण राष्ट्रिय मुद्दाहरूको सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभइ संविधानको स्वीकारेक्ति र कार्यान्वयन पनि हुन सक्दैन।’
यसले देशमा शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने काम मात्र गर्ने वक्तव्यमा उल्लेख छ। नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुने चर्चाका बीच दुई पार्टीको संयुक्त वक्तव्य सार्वजनिक भएको हो।