(नरेन्द्र ढकाल)
झापा ।
झापाको विर्तामोडलाई १५ दिन भित्र ब्यवस्थित गर्ने सरोकारवाला पक्षको प्रतिबद्धता कागजमा नै सिमित भएको छ ।
मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा विकास भएको विर्तामोडलाई ब्यवस्थित गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत काक्तिक २६ गते अतिथी सदनमा सरोकारवाला पक्षसंग बृहत छलफल गरेर १५ दिन भित्र सुधारका काम गर्ने निर्णय गरेको थियो । प्रतिबद्धता जनाउन अग्रसर देखिएकाहरु गुमान हुदाँ विर्तामोड अब्यवस्थित बन्दै गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले आफ्नो ६ महिनाको काम र भावि योजनाहरु बताइरहदाँ राजनीतिक दलका प्रतिनीधि, विर्तामोड नगरपालिकाका कर्मचारी, नेपाल विद्युत प्रधिकरणका कर्मचारी, नेपाल टेलिकम कर्मचारी, सडक डिभिजन कार्यालय दमकका कर्मचारी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतले विर्तामोडलाई ब्यवस्थित गर्न आ–आफ्नो तर्फबाट काम गर्ने सहमति गरेर माइनुटमा हस्ताक्षर समेत गरेका थिए ।
छलफलका क्रममा सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले सडकको समस्या समाधान गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । उनले सडकको भाग ८२ फिट लाई क्लियर गर्दै लैजाने प्रतिबद्धता समेत जनाउदैं १५ दिनभित्रमा काम थाल्ने बताएका थिए । तर १५ दिन बितिसक्दा समेत सडक डिभिजनले कुनै काम थालेको छैन् । त्यस्तै विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्ती विर्तामोडको मुख्य समस्या भनेको फोहोर ब्यवस्थापन र फुटपात ब्यवस्थापन रहेको भन्दै उक्त कार्यमा नगरपालिका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले नगरपालिका नयाँ भवनमा सरेपछि नगरप्रहरी राखेर फुटपात ब्यवस्थापन गर्ने बताए पनि उक्त समस्या जस्ताको त्यस्तै रहेको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणका दिपेश भण्डारीले सडकको किनारमा गाडीएका बिजुलीका पोलहरुलाई सार्न आफुहरुले पहल सुरु गरेको बताएका थिए । विद्युत प्राधिकरणले हाल सम्म पोल सार्ने काम गरेको छैन । विर्तामोड क्षेत्रका पोलहरुलाई १५ दिन भित्र ब्यवस्थित गर्ने उनले पनि प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै नेपाल टेलिकमका श्रीभद्र घिमिरेले अपटिकल फाइबरहरु बिछ्याउदा सडकको किनारमा उठाएका सिमेन्टका बिटहरुलाई सम्याउदै सवारी सञ्चालन गर्न सक्ने बताउने प्रतिबद्धता जनाए पनि काम गरेका छैन् । त्यस्तै विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले विर्तामोडलाई ब्यवस्थित गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्ने बताए पनि उनीहरुले पनि चासो दिएको पाइएन् ।

त्यसैगरी विर्तामोड स्थित मुक्ति चोकमा रहेको आइल्याण्डलाई सानो बनाउने विषयमा राजनीतिक दलहरुसंग आवश्यक परामर्श गर्ने र एक जना ट्राफिक प्रहरीले नै विर्तामोडको ट्राफिक ब्यवस्थापन गर्न सक्ने बताउने विषयमा सबैसंग छलफल गर्ने सहमति समेत भएपनि यो विषयमा कुरै हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले बताए । सम्बन्धित निकायलाई समस्या देखाएर झक्झक्याउदाँ समेत कसैले चासो नदिएको गिरीको भनाई छ ।

