
बिर्तामोड।

बिर्तामोड नगरपालिकाकालाई उपमहानगरपालिका बनाइनुपर्ने माग राख्दै झापापाका ४० बढी संघ–संगठनले सामुहिक निर्णय गरेका छन् ।
बलराम कार्कीको संयोजकत्वमा समिति गठन गर्दै ती संगठनले सबै कुराबाट उपयुक्त मानिएको बिर्तामोडलाई उपमहानगरपालिका बनाइनुपर्ने मागसहित सामुहिक निर्णय गरेका हुन् ।

राजनीतिक आस्थाबाट टाढै रहेर विभिन्न संघ–संगठनले मापदण्डको आधारमा शनिअर्जुन नगरपालिका तथा गरामनी र गोलधापलाई समेत समेटेर उपमहानगरपालिका बनाइनुपर्ने निर्णय गरेका हुन् । उक्त निर्णय स्थानीय तह पुनर्संरचना आयोग समक्ष पु¥याउन लागिएको समेत सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बिर्तामोडलाई उपमहानगरपालिका बनाउन स्थानीय राजनीतिक दल, स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति तथा सरोकारवाला समक्ष आफ्ना मागहरु पूरा गराउन समेत पत्रकार सम्मेलनमा माग गरिएको थियो ।
राजनीतिक, आर्थिक, सामाजिक एवम् अन्तर्राष्ट्रिय परावहनको हिसाबले महत्वपूर्ण रहेको मेची तथा पूर्वाञ्चलको केन्द्र अर्जुनधारा, विराटपोखर जस्ता अति महत्वपूर्ण ठाउँ यहाँ भएकाले भूगोल र यहाँ बस्ने नागरिकको भविष्यको समृद्धि, एकता र विकासका लागि जनता, भूगोल र प्राकृतिक स्रोतको एकीकरणबाट मात्र सम्भव रहने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा बिर्तामोडलाई उपमहानगरपालिका बनाउन कार्कीकोे संयोजकत्वमा कृष्ण मिश्रलाई सचिव, बनाउँदै १२ सदस्यीय समिति गठन गरिएको जानकारी दिइएको थियो । समितिको सदस्यमा जलकुमार गुरुङ, सजेश शिवाकोटी, बुद्धिप्रसाद घिमिरे, ओमकृष्ण विमली, पार्वता विमली, राजु धमला, एकराज गिरी, सुरेश भद्रपुरे, रुद्र सिटौला र सुवास भट्टराई रहेका छन् ।
बिर्तामोडको भूगोललाई पछिल्लो दिनमा ५० वा १०० बर्षसम्मको लागि समृद्धिको आवश्यक मापदण्डहरु औद्योगिक पार्क, पर्यटन क्षेत्र, जलाधार क्षेत्र, व्यापारिक पार्क, खुल्ला तथा पर्यावरणीय वन जंगल क्षेत्र, ल्याण्डफिल्ड, आधारभूत आवास क्षेत्र, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जन क्षेत्र पूरा गर्न आवश्यक जमिनको एकीकरण गर्न समेत आवश्यक भएकाले यसलाई उपमहानगरपालिका बनाइनुपर्ने उपमहानगरपालिका बनाऔं अभियानका संयोजक बलराम कार्कीले बताए ।
मेचीनगर र दमकलाई उपमहानगरपालिका बनाइनुपर्ने माग उठ्दै आएकोमा हरेक क्षेत्रले केन्द्रविन्दुका रुपमा चिनिएको बिर्तामोडलाई पनि उपमहानगरपालिका बनाइनुपर्ने उनीहरुको माग छ । जसका लागि भूगोल विद् डा. श्याम भूर्तेल समक्ष आफ्ना मागका विषयमा कुरा पु¥याइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
बिर्तामोडलाई उपमहानगरपालिका बनाउन उद्योग वाणिज्य संघ बिर्तामोड, नेपाल रेडक्रस सोसाइटी, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल उद्यमशील महिला महासंघ, अग्रसेन भवन बिर्तामोड, होटल व्यवसायी संघ झापा, कस्मेटिक डिलर्स एशोसिएसन झापा, नेपाल राष्ट्रिय बाणिज्य संघ झापा, क्रिएटिभ नेप्लिज युथ ग्रुप, बिर्तामोड सरसफाई समिति, वीरता जेसीज, जिल्ला सहकारी संघ क्षेत्र नं. २, छठ सेवा समाज समिति बिर्तामोड, मारवाडी युवा मञ्च बिर्तामोडले बिर्तामोडलाई उपमहानगरपालिका बनाइनुपर्ने माग गरेका छन् ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, निर्माण व्यवसायी संघ झापा, लायन्स क्लब अफ बिर्तामोड, पूर्वेली क्लब बिर्तामोड, मुक्ति समाज, नेपाल भेनियर उत्पादक संघ, रोटरी क्लब अफ बिर्तामोड, खानेपानी तथा सरसफाई उपभोक्ता समिति बिर्तामोड, गैरसरकारी संस्था महासंघ झापा र मेची यातायात संघले पनि प्रतिबद्धता सहित बिर्तामोडलाई उपमहानगरपालिका बनाइनुपर्ने माग गरेका हुन् ।

