Aamsanchar

उत्पादित विजुली खेर जान नदिन खपत बढाउनै पर्ने : कुलमान घिसिङ

Author Image
आइतवार, मंसिर २६, २०७८

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत खेर जान नदिन काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आगामी ५ महिना मात्रै समय रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र आर्थिक पोलिसी इन्क्यूभेटर (ईपीआई)ले आइतबार राजधानीमा गरेका उर्जा व्यापार सम्बन्धी कार्यक्रममा उत्पादित विजुली खेर जान नदिन विद्युत खपत बढाउनै पर्ने बताए । उनले यो वर्ष अघिल्लो वर्ष तयारी गर्न नभ्याउदा उत्पादित बिजुली खेर गएको बताए । तर, आगामी वर्ष पनि विजुली खेर जान नदिन विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने उनले बताए ।

आन्तरिक बजारमा खपत बढाउनेसँगै भारत र बंगलादेशमा नै विद्युत व्यापार गर्नुपर्ने उनले बताए । “हिजो लोडसेडिङ हटाउने चुनौती थियो । आज उत्पादित विजुली खपतको चुनौती छ,” उनले भने । विद्युत खपत बढाउन प्रयास गरिरहेको भन्दै त्यसका लागि विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

“हामीले इन्डक्सनको प्रयोग बढाएका छौं । तर त्यसले मात्रै हुँदैन । विद्युतीय गाडीको प्रयोग पनि निकै बढाउनुपर्नेछ,” उनले भने । विद्युत क्षेत्रमा सबै मिलेर नै अगाडि बढ्नुपर्ने भन्दै उनले आगामी वर्ष उत्पादित बिजुली खेर नजानेगरी काम गर्नुपर्ने बताए ।

उनले एकै वर्षमा विद्युत खपत २० प्रतिशतले बढेको भन्दै उद्योगहरूबाट पनि माग बढेको बताए । घिसिङले उद्योगले माग गरे अनुसार विद्युत दिन सक्ने अवस्थामा रहेको उनको भनाइ छ । उनले एक ठाउँमा खेर जाने र अर्को ठाउँमा विजुली नपुग्ने अवस्था आगामी वर्षमा हुन नदिने उनको दाबी छ ।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर