प्रधानसम्पादक ढकालको स्वास्थ्य अवस्था सुधारोन्मुखसुरेन्द्र भण्डारी
बिर्तामोड ।
झापाली माटोमा जन्मिएका र अक्षरको खेतीलाई आफ्नो उमेर, बैश र समयलाई सर्वस्व ठानेका मदन ढकाल अहिले अस्पतालमा छन् ।
उनको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । मधुमेह र मृगौलाका बिरामी ढकाललाई गत वुधवार विहान अस्वस्थ भएपछि सो अस्पतालमा लगिएको थियो ।
बिहानै आकस्मिक कक्षमा लगिएका ढकाललाई सो अस्पतालका मेडिकल डाइरेक्टर डा. अनिल बस्नेत नेतृत्वको चिकित्सक टोलीले उपचार सेवा प्रारम्भ गरेको थियो । शरीरमा उत्पन्न भएका विभिन्न प्रकारका विकारलाई मृगौलाले वाहिर निकाल्ने काम गर्छ । डाइलोशिस गराइरहेका ढकालको रगतमा पोटासियमको मात्रा बढेर मुटु प्रभावित भएको थियो । डा. बस्नेतका अनुसार विरामीको मुटुको धड्कन झण्डै शून्य थियो तर उहाँ वेहोसीमा बोल्दै हुनुहुन्थ्यो । ‘व्लड प्रेसर’ पनि नभएको अबस्थामा डाइलोशिस असम्भव हुन्छ– डा. बस्नेतले भने ।
यस्तो अवस्थामा जोखिम मोलेर उहाँलाई कृत्रिम श्वासप्रश्वास (सीपीआर) दिइयो । सम्भव भएसम्मका उपाय गरेर उहाँलाई डाइलोशिसमा लागियो– डा. बस्नेतले भने – ‘डाइलोशिस गर्दै गरेकी बिरामीलाई हटाएर व्लडप्रेसर बढाउने औषधिसँगै डाइलोशिस शुरु गरियो ।’ भेन्टिलेटरसमेत राखेर गरेको अथक प्रयासपछि करिब ४५ मिनेटपछि मुटुले काम गर्न शुरु ग¥यो– डा. बस्नेतले भने ।
‘कठिन संर्घषपछि रक्तप्रवाह र मुटुको धड्कन बढाउन सफल भएर जीवन दिन पाउँदाको खुशी आफ्नो बच्चालाई बाघको मुखबाट खोसेको अनुभूति भएको छ’– डा. बस्नेतले भने– यस्तो अवस्थामा गरिएको उपचार, संर्घष र पुनर्जीवन चिकित्सा विज्ञानको क्षेत्रमा बिरलै हुन्छ र मेरो चिकित्सक जीवनको यो पहिलो घटना हो ।
आकस्मिक उपचारमा संलग्न एनेथेसिस्ट डा. पुष्पक रेग्मी ढकालको सफल उपचारबाट आफूलाई प्राप्त भएको खुशी शब्दमा व्यक्त गर्न नसक्ने बताउँछन् । उनी भन्छन्– ‘दिस इज द ग्रेट एचीभमेन्ट’ । एकाविहानै मेडिकल सुपरिटेन्डेन्ट डा. बस्नेतले मलाई फोन गर्नुभयो र दुई मिनेटभित्र अस्पताल पुग्न निर्देशन दिनुभयो । अस्पताल पुग्दा ढकाललाई वेहोसी अवस्थामा पाएँ । सामान्य मानिसको मुटुको धड्कन ६०–१०० हुनुपर्नेमा उहाँको १५–१८ मात्रै थियो, प्रेसर पनि थिएन । पोटासियम वढेर मुटुको चाल रोकिएको थियो, बिरामीका छोरालाई विरामीको अवस्थाको जानकारी गराएँ । तर, डा. अनिल रेग्मी, डा. सुदीप भट्टराई र स्टाफ नर्सहरुको सामुहिक तत्परता, प्रयास, एकात्मकता र उपचारपछि प्राप्त सफलता ईश्वरको कृपा र हाम्रा लागि ‘मिराकल’ उपलब्धी हो– डा. पुष्पकले भने ।
डाइलोशिसपछि आइसीयूमा राखेर उपचार सेवा गरेको स्मरण गर्दै आइसियू विशेषज्ञ तथा एनेस्थेसिस्ट डा. पुष्पक भन्छन्– ‘तीन मिनेटसम्म मस्तिष्कमा अक्सिजन पुगेन भने जीवनको अन्त्य हुन्छ, यसो नभए दिमागले काम नगर्ने जोखिम रहन्छ । सबै जोखिमकाबीच उपचार गरेर भोलिपल्ट विहान आइसियूमा पस्दा उहाँ पत्रिका पढिरहनु भएको थियो, त्यो दृष्य देख्दा मेरो खुशीको सीमा रहेन हर्षको आँशु आयो’– डा. पुष्पकले भने ।
यता अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले भने– मलाई मदनजी यसरी फर्कनुहोला भनेर पत्यार नै लागेको थिएन । उहाँ अचम्म गरी फर्किनुभएको छ । उहाँ बिरामी भएको खवर पाउनासाथ म अस्पताल पुगँे उनले भने–त्यो बेला डाक्टरहरु छाती थिचिरहेका थिए, हाड छालामात्र भएको शरीरमा त्यत्तिका डाक्टरहरुले थिचेको मैले हेर्न सकिँन । मेरा बिर्तामोडका अत्यन्त स्नेही र पुराना मित्र मदनजी मृत्युसँग संघर्ष गरिरहेको अबस्थाले मेरो सम्वेदनालाई दुखायो । मैले आफूलाई सम्हाल्न सकिँन र बाहिर आएर आँशु पुछँे । त्यसो त म सिकिस्त विरामीलाई हेर्नै सक्दिन, त्यसमा पनि मदनजी मेरा अनन्य मित्र हुन् । म बाहिर निस्कँदा सबैजना रोइरहेका थिए । म सम्हालिँदै परिवारलाई सान्त्वना दिनका लागि भए पनि ठीक हुँदैछ भनेर बाहिरिएँ । तर, मेरो आत्माले हारीसकेको थियो ।
मदनजी झापामा जन्मिएका पहिलो र अग्रज पत्रकार हुनुहुन्छ । बिर्तामोडमा पत्रकार र पत्रिका नसुनिने समय उहाँ बिर्तामोडबाटै पत्रकारिता गर्दै हुनुहुन्थ्यो । उहाँको सम्पूर्ण जीवन आज पर्यन्त यसै क्षेत्रमा लागेको छ । भोलिपल्ट विहान उहाँलाई हेर्न म आइसियु कक्षमा पसेँ । मेरो मनमा उहाँको शरीर चेतनाशून्य होला ठानेको थिएँ, हिजोको अबस्था देखेकाले । उहाँले आँखा हेर्नुभयो र मलाई हातले बोलाउनुभयो । नजिक गएपछि उहाँले भन्नुभयो– मेरा मान्छेलाई भन्दिनु मलाई भोक लागेको छ । त्यसपछि उहाँले पूर्वाञ्चल पत्रिका हेर्न माग्नुभयो । मदनजी त्यसको प्रधानसम्पादक हुनुहुन्छ र हिजोसम्म सम्पादकीय लेखिरहनुभएको थियो । मैले अस्पतालको कार्यालयबाट पूर्वाञ्चलसँगै कान्तिपूर पनि पु¥याउन लगाएँ ।
उहाँ अहिले स्वाथ्य लाभ गरिरहनुभएको छ र डाक्टरहरुले उहाँलाई शनिवार आइसियूवाट एचडीयूमा सार्न तयारी गरिरहेको बुझेको छु । उहाँको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु– अध्यक्ष बस्नेतले भने ।
Views: 147

