उदयपुर,

उदयपुरको मैनामैनी–९ कोठुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक असईले प्रहरी नायव निरीक्षक सईलाई बन्चरोले हानेर वेपत्ता भएका छन् ।

सप्तरी घर भई अस्थाई प्रहरी चौकी कोठुमा कार्यरत असई राम शरण मण्डलले सई राजेश चौधरीलाई बन्चरो हानेपछि आइतबार साँझदेखि मण्डल बेपत्ता भएका छन् ।
असई मण्डल प्रहरी सम्पर्कमा नआएपछि इलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी कोठुले खोजतलास तिब्र बनाएको छ । हराएका मण्डल अहिलेसम्म परिवारको सम्पर्कमा नपुगेको प्रहरीले जनाएको छ ।

आइतबार विहानै चतरा पुलमा ड्युटी खटिएका मण्डल दिउँसोसम्म पनि चौकी नफर्किएपछि चौकी इन्र्चाज प्रहरी नायव निरीक्षक राजेश चौधरीले स्थानीय होटलमा रक्सी खाएको अवस्थामा भेट्नुभएको थियो ।
इन्र्चाज चौधरीले ड्युटी समयमा रक्सी किन खाएका ? चौकी जाँउ भन्दा मण्डलले चौधरीलाई नै तथानाम गाली गरी आक्रमण बन्चरोले हानेको स्थानीय गणेश राईले बताउनुभयो । प्रत्यक्षदर्शी राईले भन्नुभयो ‘हामी त्यही होटलमा बसिराखेका थियौ, इन्चार्ज चौधरीले बिहानैदेखि मादक रक्सी खाई बसेका असई मण्डललाई सम्झाउन खोज्दा मण्डलले चौधरीलाई गाली गर्दै बन्चरोले हाने ।’
बन्चरोले हानेपनि सई चौधरीले छलेपछि उहाँलाई कुनै चोटपटक लागेको छैन । बन्चरो हानेपछि चौकी जान्छु भनेर हिँडेका मण्डल प्रहरीको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घर बिदा मागेका मण्डलको विदा स्वीकृत नभएपछि हिँडेको हुन सक्ने उदयपुरका प्रहरी उपरिक्षक नरबहादुर केसीले बताउनुभयो ।

