
(पार्थ मण्डल)

भद्रपुर।
झापाको सदरमुकाम स्थित भद्रपुर नगरपालिका कार्यालयबाट हुने गरेका विकास निर्माणसंग जोडिएका योजनाहरु तोकिएको समयमा पुरा नहुने गरेको पाइएको छ ।

उपभोक्ता समिति तथा ठेकेदार व्यवसायीले योजनाहरु तोकिएको पुरा नगर्दा नगरका विकास निर्माण कार्यहरु अस्तव्यस्त छन् । सरकारी ऐन तथा नियामावलीमा ६० लाख भन्दा कम रकमका योजना निर्माण गर्दा उपभोक्ता समिति मार्फत गराउन सकिने र सो भन्दा बढीको रकम ठेक्का प्रक्रिया मार्फत गराउने भनिएको छ । सोही अनुसार नगरपालिकाले योजनाहरुलाई निरन्तरता दिदै आएका छन् ।
नगरपालिकाले गत आर्थिक बर्ष ०७२/७३ मा कल्भर्ट, नाला सहितको सडक विस्तारका लागि मात्र झण्डै ३ करोड २९ लाख ३८ हजार ४ सय ६१ रुपैया बराबरको बजेट छुटाइएको छ । सो बजेटमा ६ वटा योजना परेको छ । ६ वटै योजना उपभोक्ता समितिमा र्निभर छ । उपभोक्ताले काम गर्दा सडकको हकमा ३० प्रतिशत र नाला, तटबन्धन, भवन निर्माणको हकमा २० प्रतिशत रकम बुझाउनु पर्ने हुन्छ, त्यसपछिको बाकी रकम नगरपालिकाले बेहोर्न नियम छ ।
गत आर्थिक ०७२/७३ मा नगरपालिकाले उपभोक्ता समितिसंग सम्झौता गरेर निर्माण कार्य सुरु गरेका थिए । ०७२/७३ मै निर्माण कार्य सक्नुपर्ने अवस्थामा चालु आर्थिक ०७३/७४ को मंसिर पनि सकिन लागि सक्यो । तरपनि उपभोक्ता समितिले कुनै योजना नगरपालिकालाई हस्तान्तर गरेको छैन ।
नगरपालिकाको जगेडा कोषबाट सञ्चालित वडा नम्बर ३,४ र ७ मा पर्ने बोत्तोबारी चौकदेखि मन्त्रिचोक वडा कार्यालय र जनताचोकदेखि धुलाबारी जाने बाटो नाला सहितको सडक विस्तारको लागि ५८ लाख ८८ हजार ५ सय ३८ रुपैयामा उपभोक्ता समितिले ३४ लाख ४६ हजार रुपैया नगरपालिकाबाट भुत्तान लगिसकेको छ । बोत्तोबारी चौकमा नाला निर्माण कार्य सम्पन्न भएको छैन, भने जनता चोकमा निर्माण कार्य सुरु नै भएको छैन् ।
वडा नम्बर ११, १३ र १४ मा पर्ने देवकोटा मार्ग, टावर मार्ग हुदै चैतुबारी शिवालय चौकबाट केन्द्रमोड हुदै सिद्धार्थ चौक सम्मको नाला सहितको सडक विस्तारका लागि ५९ लाख ९९ हजार ५ सय ८२ रुपैयामा उपभोक्ता समितिले ४७ लाख ४७ हजार रुपैया नगरपालिकाबाट भुत्तान लगिसकेको अवस्थामा अझै पनि कार्य पुरा भएको छैन् । त्यस्तै वडा नम्बर ८ र ९ मा पर्ने मेची क्याम्पस पछाडीको बाटो हुदै सगरमाथाचौकदेखि विद्युत प्राधिकरण जाने बाटोमा नाला सहित सडक विस्तारमा ५० लाख २५ हजार २ सय ७१ रुपैयामा उपभोक्ता समितिले नगरपालिकाबाट दुई चरणमा २९ लाख ४८ हजार भुत्तान लगिसकेको छ । क्याम्पसको पछाडी काम भइरहेको छ भने सगरमाथाचोकदेखि निर्माण कार्य सुरु नै भएको र्छैन ।
भद्रपुर ५ र ६ मा पर्ने जगदीश साहको घरदेखि रामवअवतारको पसल सम्म नाला सहित सडक विस्तारका लागि ५० लाख २५ हजार २ सय ७१ रुपैयामा उपभोक्ता समितिले नगरपालिकाबाट १४ लाख ७० हजार रुपैया भुक्तान लगिसकेको अवस्थामा अझै निर्माण कार्य सुरु भएको छैन । सो बाटोमा घर भएका केही उपभोक्ताले जग्गा खाली नगर्दा निर्माण कार्य अलपत्रमा परेको बुझिएको छ । त्यसैगरी वडा नम्बर १० र ११ मा पर्ने एसपी मोडदेखि सशस्त्र क्याम्प सम्म जोडिने सडकमा नाला सहित सडक विस्तार र केसीको घर अगाडी सडक कालोपत्रेका लागि ५० लाख १६ हजार २ सय ९७ रुपैयामा उपभोक्ता समितिले नगरपालिबाट २९ लाख ३६ हजार भुत्तान लगिसकेको छ ।
कालोपत्रे तथा नाला सहितको सडक विस्तार कार्य अझै पुरा भएको छैन । नगर विकास कोषबाट सञ्चालित वडा नम्बर १३ र १५ मा पर्ने लेखनाथचोकदेखि पश्चिम काफ्ले टोल जानेबाटोमा नाला सहित सडक विस्तारका लागि ५९ लाख ९९ हजार ५ सय ८२ रुपैयामा उपभोक्ता समितिले नगरपालिकाबाट ५१ लख ४४ हजार भुत्तान लगिसकेपनि हाल सम्म निर्माण कार्य पुरा भएको छैन । सो नालामा गुणस्तरहीन काम भएको समाचार यसअघि नै बाहिर आइसकेको छ, तरपनि उपभोत्ता समितिले निर्माण कार्य चाडो सक्नुपर्नेमा कुनै चासो देखाएको छैन् । अरु योजना भन्दा यो योजना छिटो सुरु भएको थियो ।
यता भद्रपुर ५ स्थि बसपार्कमा पर्ने झिलमिलिया खोलको तटबन्धन कार्य अलपत्रमा परेको छ । नगरपालिकासंग उपभोक्ता समितिले तटबन्धन निर्माणका लागि ०७१।७२ को जेठमा सम्झौता गरेको थियो । कुल ५० लाख ३५ हजार १ सय ७९ रुपैया बजेटमा उपभोक्ता समितिले सोही आर्थिक बर्षमा नगरपालिकाबाट १४ लाख भुत्तान लगिसकेको अवस्था छ ।
उपभोक्ता समितिले हाल सम्म निर्माण कार्यको सुरुवात नै गरेको छैन । बसपार्कमा समितिले ढुङ्गा र बालुवा थुपारेर राखेको दृष्य जोकोहीले देख्न पाउछन । त्यस्तै भद्रपुर ६ स्थित नगरपालिका कार्यालयको कार्यालय भवन निर्माण कार्य पनि अलपत्रमा परेको छ । मन्त्रालयबाट पहिलो चरण १ करोड बजेट छुटाएर निर्माण कार्यको सूरुवात गरेपनि ठेकेदार व्यवसायीको लापरवाहीले निर्माण कार्य अलपत्रमा परेको छ । भद्रपुर ५ मा रहेको कोल्ड स्टोर निर्माण कार्य पुरा हुन नहुनेमा नगरबासी बोल्न छाडिसकेको अवस्था छ । भारतीय राजदुतावसको सहयोगमा निर्माणधिन अवस्थामा रहेको बधशाला निर्माण कार्य सूरु भएको आधा दशक वित्न लागिसकेको छ ।
नगरपालिका इन्जिनियर योगेन्द्र रजितकारले कालोपत्रे, नाला सहितको सडक विस्तारका केही योजना बर्खाको कारण ढिला भएको बताउदै भद्रपुर ६ र ४ मा उपभोक्ताले जग्गा खाली नगर्दा समस्या आएको बताए । केही स्थानमा निर्माण कार्य अन्तिम चरण पुगिसकेकोले पुस मसान्त भित्र अधिकाश योजना नगरपालिकालाई हस्तान्तर हुने उनको दावी छ ।
खोला तठबन्धनको कार्य जग्गाविवादले लम्बिएकोले पुस देखि निर्माण कार्यले गति लिने उनले बताए । नगरपालिका निर्माण कार्य सूरु भइसकेको छ भने कोल्डस्टोर पनि पुस मसान्त भित्र सञ्चालनमा आउने उनले बताए । नगरपालिका कुनै पनि योजना तोकिएको समयमा पुरा हुदैन जसले अन्य नगरपालिकाको हकमा भद्रपुर जहिले पछि परेको अवस्था छ । नगरकै योजना अलपत्रमा परिरहेको बेला शहरी विकास तथा भवन निर्माण विभागले यसबर्ष नगरमा २१ वटा योजनको काम गर्ने भएको छ । सो कामका लागि मन्त्रालयले ५० करोड बजेट छुटाएको छ ।

