Aamsanchar

प्रवासमा रहेका नेपालीहरुले प्रवासबाटै मतदान गर्न पाउनुपर्ने मागसहित सरकारलाई ज्ञापनपत्र

Author Image
मङ्गलवार, माघ ११, २०७८

प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, युएईले हिजो सोमबार दूतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

प्रवासी नेपाली मञ्च, युएईका अध्यक्ष महेश गिरिद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लोकतन्त्रप्रति नेपालको निष्ठालाई मध्यनजर गर्दै प्रवासी नेपालीहरुलाई प्रवासबाटै प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ तथा नगरपालिका र जनमतसंग्रहका निर्वाचनहरुमा प्रत्यक्ष रूपमा मतदान गर्न पाउने प्रबन्ध मिलाउन माग गरिएको छ।

ज्ञापनपत्रमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री सपना मल्ल प्रधान र माननीय न्यायाधीश श्री पुरुषोत्तम भण्डारिको संयुक्त इजलासले २०७४ चैत्र ७ गते बिदेशमा रहेका नेपालीहरुको लगत संकलन गरि मतदानको आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई दिएको आदेसको उल्लेख गर्दै नेपाली राहदानी, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाट कुटनितिक नियोग वा विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने र अद्यावधिक गर्न पाउने व्यवस्था गर्न समेत माग गरिएको छ।

अध्यक्ष गिरिले भारत बाहेकका अन्य मुलुकमा करिब ५० लाख नेपालीहरु रहेको उल्लेख गर्दै ती नेपालीहरुको मताधिकारलाई सुरक्षित गर्न सरकारले प्रवासबाट मतदान गर्न पाउने व्यवस्था मिलाउने कुरामा आफू आशावादी रहेको बताउनु भयो ।

 

Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर