भद्रपुर।

घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन् ।

झापाको भद्रपुरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले शुक्रबार यहाँ आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति समाजमा रहेको भ्रम हटाउने सम्बन्धमा सरोकारवाला निकायबीच एक दिने अन्तक्र्रिया कार्यक्रममा सो धारणा राखेका हुन् ।
लिङ्गको अस्पष्टताले गर्दा जीवनमा धेरै कठिनाइ व्यहोरिरहेको र यसैका कारण घर, समाजबाट बाहिर आएर आफ्ना सङ्गठन खोज्दै दिन बिताइरहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले रोजगारको सुनिश्चिता राज्यले गरी दिनुपर्ने माग गरे ।

तेस्रो लिङ्गी प्रेम थापाले आफू पुरुष भएर जन्म लिएको तर पछि लिङ्गमा आएको परिवर्तनले आफ्नो जीवनमा नै परिवर्तन ल्याइदिएकाले अहिले म महिला भन्न रुचाउँछु भने ।
उनले मेरो आवाज महिलाको जस्तो छ, धेरै कुरा महिलासँग मिल्दोजुल्दो भएकाले महिला भएर नै बसिरहेको अवस्थामा आयआर्जनका निम्ति हामीलाई राज्यले भरपर्दो तालिमको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए ।
यस्तै, तेह्रथुम घर भएका कमला गुरागाईंले जुङ्गा र दाह्री आएको बताउँदै आफूसँग दुवै लिङ्ग भएकाले समाज र घरबाट एकलिएको जानकारी दिए ।
अर्की कमला विमला श्रेष्ठले आफू गरिब भएको घरमा अन्य सदस्यको विवाह भइसक्दा आफ्नो बारेमा चर्चा हुन लाग्दा मात्र समाजका मानिसले तेस्रो लिङ्गी भएको थाहा पाएकाले बिना आयको एकलो जीवन बिताउन गाह्रो भएकाले सरकारले आयमूलक तालिम दिएर स्थापित गराउनु पर्ने कुरामा जोड दिइन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले वर्तमान संविधानले सबै किसिमको विभेद अन्त्य गरेकाले सबैको हक अधिकार सुरक्षित रहेको बताए।

