Aamsanchar

चिसोका कारण तराईको जनजीवन प्रभावित

Author Image
सोमवार, मंसिर २७, २०७३

झापा । images (1)

तराईमा बढ्दो चिसोका कारण दैनिक जनजीवन कष्टकर बनिरहँदा सरकारले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

चिसोका कारण विद्यालयहरु बन्द गरिएका छन् भने बाक्लो कुहिरोको कारण सार्वजनिक यातायात र विमान सेवा सञ्चालनमा बाधा पुगिरहेको छ।

स्थानीय एक चिकित्सकले जाडोका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बताएका छन्।

गृहमन्त्रालयले चिसोका कारण देखिन सक्ने समस्यालाई लक्षित गरी जिल्ला दैवी प्रकोप समितिलाई क्रियाशील बनाइएको बताएको छ।

जाडो

तराईमा कठ्यांग्रिदो जाडो हुन थालेपछि सामुदायिक विद्यालयहरु बन्द गरिएका छन्।

जिल्ला शिक्षा कार्यालयहरुका अनुसार बिहान चिसो अत्यधिक हुने गरेकाले एक हप्ताका लागि बिदा दिएको छ।

बजारमा मानिसहरुको भीडभाड घटेको छ भने व्यवसायीहरु आगो ताप्दै दिन काट्न थालेका छन्।

बाक्लो कुहिरोको कारण सवारी साधन चलाउन समस्या भएको बताउँदै यात्रुहरुको संख्या घटेको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरी बताउँछन।

उनी भन्छन्, “मानिसहरु आफ्नै घरमा बसेर आगो तापेर जीवन बिताइरहेका छन्, त्यही भएर यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घटेको छ।”

तराईमा हवाइ सेवा समेत प्रभावित भएको छ। विमान अवतरणका लागि आवश्यक प्रकाश नपुग्दा हवाइ उडानहरु रद्द हुन थालेका छन्।

सावधानी

आइतबार तराईमा अधिकतम तापक्रम १४ दशमलब ६ डिग्री र न्यून्तम तापक्रम ८ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको मौसम तथा जलवायु विज्ञान विभागले जनाएको छ।

तराइमा चिसो बढेपछि गृहमन्त्रालयले जिल्ला दैवी प्रकोप उद्धार समितिहरुलाई सुरक्षाका उपायहरु अवलम्बन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी भन्छन्, “नागरिकहरु पनि विशेष सचेत हुनुपर्ने अवस्था छ, किनभने यो हरेक वर्ष प्राकृतिक विपदका रुपमा देखापरिरहेको छ, तर यसबाट बच्न सकिन्छ र बच्ने उपाय अवलम्बन गर्न हामीले अनुरोध गरेका छौँ, जिल्ला दैवी प्रकोप उद्दार समिति परिचालित पनि भइसकेको छ।”

वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डाक्टर राम परिक्षण यादवका अनुसार, जाडोबाट जोगिन कोठालाई न्यानो बनाउनुका साथै बाक्लो कपडाहरु लगाउने र तातो खानेकुरा खानुपर्छ।

चिसोका कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउनसक्ने भन्दै उनले त्यसबाट निमोनिया जस्ता घातक समस्या देखिनसक्ने उनले बताए।

तराईमा बर्सेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले ज्यान गुमाउने गरेका छन्।

त्यस्तो अवस्था आउन नदिन मानिसहरुले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरु लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने डाक्टर यादव बताउँछन्। बिबिसी नेपाली सेवाबाट

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर