

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसविरुद्ध लड्न युक्रेनमा आफ्नो सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै अमेरिका युक्रेनमा गएर रूसविरुद्ध नलड्ने भन्दै यस्तो लडाइँ भए तेस्रो विश्व युद्ध सुरु हुने बताएका छन्।

राष्ट्रपति बोइडेनले अमेरिका नेटो र नेटो क्षेत्रको सुरक्षाका लागि कटिबद्ध रहेको समेत उल्लेख गरेका छन्। बाइडेनले यसअघि पनि युक्रेनमा आफ्नो सेना नपठाउने र नेटो सेना पनि नजाने बताइसेका छन्।
तर‚ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कयौँ पटक नेटोसँग सैन्य मद्दत मागेका छन्। जेलेन्स्कीले युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा गर्नसमेत माग गर्दै आएका छन्।

तर‚ पश्चिमा देशहरूले युक्रेन नेटो सदस्य नरहेकाले हवाई निषेधित क्षेत्र घोषणा गर्न नसकिने बताइसकेका छन्। पश्चिमा देशहरूले युक्रेनमाथि आक्रमण गरिरहेको रूसविरुद्ध विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन्। अमेरिकाले रूसबाट तेल आयातसमेत रोकेको छ।
त्यस्तै‚ पछिल्लो पटक बाइडेन प्रशासनले रूसको मदिरा, सिफुड तथा हिरा आयातमा प्रतिबन्ध घोषणा गर्दै थप केही व्यवसायीमाथि प्रतिबन्ध लगाएका छन्।

