Aamsanchar

तीन जना कर्मचारीमाथी आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगद्वारा स्पष्टीकरण माग

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले मकवानपुरका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । मंगलबार लिखित पत्र लेख्दै कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा सक्रिय रहेका ३ जना कर्मचारीसँग २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा सक्रिय रहेको समाचार र उजुरीको आधारमा उनीहरूलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । उनीहरु सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचार कार्यमा सक्रिय थिए । उनीहरुलाई स्पष्टीकरण सोध्नुका साथै निर्वाचनका कुनै पनि कार्यक्रममा नखटाउने निर्णयसमेत भएको छ ।

जवाफ मागिएका कर्मचारीमध्ये एक जना हेटौंडा उपमहानगरपालिकाका कर्मचारी हुन् । स्पष्टीकरण सोधिएका अन्यमा त्यस्तै, प्रदेश सरकार मातहतको वन निर्देशनालय र प्रदेश नीति तथा योजना आयोगका एक–एक कर्मचारी छन् । मुख्य निर्वाचन कार्यालय हेटौंडाले सरकारका बहालवाला मन्त्री, संसद् र जनप्रतिनिधिहरूलाई पनि निर्वाचन आचारसंहिताको उल्लंघन नगर्न सुझाव दिएको छ ।

 

Views: 448

प्रतिक्रिया (०)

सम्बन्धित खबर