धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् ।
राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाए । यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् । निर्वाचन आयोगका अनुसार उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने । उपमेयरमा लौरो नै चिह्न पाएका दत्त कुमार लिम्बु भने ४ हजार १२९ मत पाएर पराजित बने । राई खानेपानीको मुद्दा लिएर धरानमा लगातार आन्दोलन गर्दै आएका थिए । सोही मुद्दा उठाएवापत उनी धरान क्षेत्रमा लोकप्रिय थिए ।
सामाजिक अभियन्ताबाट राजनीतिमा आएका साम्पाङ
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन्। उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्।
पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी गीत लेख्छन् र गाउँछन् पनि। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एलबम पनि निकालेका छन्।
उनमा देशलाई केही गरौ भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए।
उनको ‘टर्निङ पोइन्ट’ त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले। जनजीविकाको ससानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन्। ‘मैले ठूलो मुद्दा उठाएको होइन,जनजीविकाको विषयमा आवाज उठाएको हो। जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन्,‘खानेपानीको विषय उठाएँ, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोलें, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोलें, सडकको खाल्डाखुल्डी र महँगी नियन्त्रणबारे पनि आवाज उठाएँ। त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ।’
स्थानीय मुद्दा मात्र होइन, सीमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिंड्थे, कहिले सीमित संख्यामा आफ्नो समर्थकहरूको साथमा विरोध प्रर्दशन गर्थे। सीमा अतिक्रमणको मुद्दा चर्किंदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाअघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशन समेत गरेका थिए।
सर्दु खोला जथाभावी उत्खनन भएको विरोधमा जाँदा ठेकेदारको समूहले उनका समर्थकहरूलाई घाइते समेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरूलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। उनी जे गर्छन्, सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्छन्।
धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन् र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्। फेसबुकबाट नै चुनावी अभियान गरेका थिए। साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्। उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए।
त्यसबेला मात्र उनले ४२२ मत पाए। त्यसबेला पनि धरानेहरूले परिवर्तनको पक्षमा मत दिंदै कम्युनिष्ट गढमा पहिलोपटक काँग्रेसका उम्मेदवार तिलक राईलाई जिताए। कम्युनिस्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउँदा पनि आश गरे जस्तो काम हुन नसक्दा धरानेहरू निराश थिए। यसपालि उनीहरूले उपयुक्त पात्रको रूपमा आफूलाई मत दिएको साम्पाङको भनाइ छ।
‘राजनीतिक दलहरूले धेरै लापर्वाही गरे। खानेपानी माग्न जाँदा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो। जनप्रतिनिधिहरू जो सत्तामा पुगे पनि दुरूपयोग गरे र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’ जनताले विश्वास गर्नुको कारणबारे उनी भन्छन्,‘उपनिर्वाचनमा हारें पनि म सधैं जनताको माझमा थिएँ। टोलटोलमा समस्याहरू बुझ्दै हिंडिरहें, मेरो त्यो निष्ठा देखेर पनि मलाई मत दिनुभयो। राजनीतिक दलहरू चुनावको बेला मात्र घरदैलो गर्दै जान्छन्।’
उनले निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन्। आफू मेयर भएखानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने उनले बताए। राजनीतिक दलहरूले अपराधलाई लुकाउने गरेकोले आफू कुनै पार्टीमा नजाने उनको भनाइ छ। तर, आस्था र सिद्धान्तको हिसाबले आफू कम्युनिज्म मन पराउने साम्पाङ बताउँछन्।
‘सैद्धान्तिक हिसाबले कम्युनिज्म मन पराउँछु तर कुनै पार्टीको सदस्यता लिएको छैन। गरीब(दुःखीहरूकै हितमा काम गर्छु, उनीहरूको संरक्षण गर्छु,’उनले भने,‘म राजनीतिमा रहिरहँदिन। राजनीतिक दलका नेताहरू राम्रो नभएर मात्र हामी आउनुपरेको हो। सेवाप्रवाह राम्रो हुनुपर्छ। जिते भने एक कार्यकाल गर्छु। पछि फेरि आवश्यकता पफ्यो भने निरन्तरता हुनसक्छ।’ श्रोत : नागरिक