लिस्बन – करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ।

नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो। सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए। प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताए। उनको शव कासकाइसस्थित अस्पतालको शवगृहमा राखिएको छ।

सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताए। बेपत्ता भएका सिलवालको खोजीकार्यका लागि सङ्घले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेको थियो।

सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए। गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए।

