Aamsanchar

मुग्लिन –नारायणगढ सडक खण्डमा ठाउँठाउँमा पहिरो, आवागमन ठप्प

Author Image
मङ्गलवार, साउन १७, २०७९

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका २९ को केराबारीमा ठूलो पहिरो गएको छ ।

यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो । यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् ।

यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ । काठमाण्डौदेखि छुट्टै गाडीलाई पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत गाडी छुट्ने ठाउँमा पनि गाडी रोकेर राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ ।

Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर