

विराटनगर – नेपाल पत्रकार महासंघ मोरङले महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरेको छ ।

महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रहेको छ ।
यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो । त्यसैगरी खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई प्रदान गरिएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।

आज विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले निष्ठुरी र खतिवडालाई दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कार वितरण गरे ।
सभामुख भण्डारीले समाजको ऐनाको रुपमा पत्रकारिता क्षेत्रको विकास भएको बताए । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले झर्रोवादी आन्दोलनका अगुवा पत्रकार कोषराज रेग्मी पत्रकारिता क्षेत्रमा प्रेरणाको रुपमा रहेको बताए ।

