Aamsanchar

देशमा आमूल परिवर्तन गर्न मेरो उम्मेदवारी : भेटवाल

Author Image
शनिवार, कार्तिक १९, २०७९

बिर्तामोड । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले आफूहरूले जितिसकेको उद्घोष गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट हाम्रो नेपाली पार्टीसँग सहकार्य गरी  “लौरो” चुनाव चिन्ह लिएर प्रतिनिधि सभामा उम्मेदवारी दिएका उनले आफूहरूले जनताको मन जितिसकेका ले अब जनताले स्वविवेकले मत दिएर आफूहरूलाई विजयी बनाउने बताए । २०५६ सालको निर्वाचनमा  झापा क्षेत्र नं. ४ मा नेकपा एमालेबाट उम्मेदवार बनेका युक्तप्रसाद भेटवाल नेपाली कांग्रेसका चक्रप्रसाद बास्तोलासँग झिनो मतान्तरले पराजित बनेका थिए ।

आफू  लामो समयसम्म नेकपा एमालेमा सक्रिय रहेर निर्वाचनमा भाग लिएपनि  पार्टी भित्रैबाट  अन्तरघात गरी  धाँधली गरि निर्वाचनमा हराएकाले तत्कालै एमाले परित्याग गरी स्वतन्त्र जीवन बिताइरहेको अवस्थामा राजनीतिक दलहरूको  फोहोरी खेलले  देश नै सङ्कटमा पर्दै गइरहेकाले त्यसलाई चिर्दै देशमा आमूल परिवर्तन गर्न उम्मेदवारी दिएको उनले बताए ।  

विगतमा आफूलाई पैसा खाएर  भोट बेच्यो भन्नेहरुले नै  राजनीतिक दलका नेताको ग्रान्ड डिजाइन र षड्यन्त्रमा पारेर आफूले जितेको चुनाव पनि हराएको बताउँदै भेटवालले आफू मत माग्न घरदैलोमा जाँदा अझैपनि आफ्नो   बारेमा कपोकल्पित भ्रामक प्रचारप्रसार समेत गर्ने गरेको पाएकाले त्यसको पछि नलाग्न आम मतदातालाई उनले अनुरोध गरेका छन् ।

राष्ट्रिय राजनीतिमा देखिएका विकृतिको विरोध गरी जनता र मुलुकप्रति उत्तरदायित्व लिने शक्तिको निर्माणमा ध्यान दिन आवश्यक रहेको भन्दै उनले वैकल्पिक राजनीतिक शक्तिहरुसँग सहकार्य गदै राष्ट्रिय स्वाधीनता, मुलुकको अखण्डता र सार्वभौमिकताको पक्षमा दर्बिलो रुपमा उभिने  बताए ।  झापा क्षेत्र नं. ४ का जनताको समस्या समाधानका लागि आफू सदैव प्रतिवद्ध रहने बताउँदै उनले जुनसुकै पार्टीमा रहेपनि  मतदाताले मतदान गर्ने विषयमा सचेत भएर राष्ट्रियहितका लागि डटेर सामना गर्न सक्ने उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए   ।

कार्यक्रममा झापा क्षेत्र नं. ४ “ख” बाट “लौरो ” चुनाव चिन्ह लिएर प्रदेश सभामा उम्मेदवारी दिएका  केशव बजगाईँले राजनीतिक दलहरूको खिचातानीकै कारण अहिलेसम्म प्रदेशको नामाकरण समेत गर्न नसकेकाले आफू प्रदेश सभा सदस्यमा  निर्वाचित भएर गएपछि प्रदेशको नामाकरण गर्ने कुरामा पहल गर्ने बताए । आफू झापा क्षेत्र नं. ४ कै बासिन्दा भएकाले यहाँको भूगोल र समस्याको बारेमा आफू जानकार रहेकाले  ति समस्याको समाधान गर्न आफू संधैं प्रतिवद्ध रहने बताए ।

झापा क्षेत्र नं. ४ का मुख्य सडक कालोपत्रे गर्ने , कृषि सडक स्तर उन्नति गर्ने , सवै नागरिकमा स्वास्थ्य , शिक्षाको पहुँच पुर्‍याउने लगायतका य‍ोजना आफूले अघि सारेर चुनावमा  भाग लिएकाले ती योजना पुरा गर्नका लागी “लौरो ” चुनाव चिन्हमा मत दिएर विजयी बनाइदिनु हुन आम मतदातालाई उनले आग्रह गरे । बार एशोशिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा बरिष्ठ अधिबक्ता हरिप्रसाद उप्रेतीले  लौरो चुनाव चिन्ह लिएर  प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार  युक्तप्रसाद भेटवाल र प्रदेशसभा सदस्य पदका उम्मेद्वार केशव बजगाईलाई मतदान गर्न आग्रह गरे ।

उनले जनताको सोच अनुरुप विकास हुन नसकेकाले देशभर स्वतन्त्रको लहर आएको बताउँदै  भष्ट्राचारको अन्त्य, स्वास्थ्य र शिक्षा मौलिक अधिकारमा विभेदको अन्त्य, भूमिहिनलाई जमिन, बेरोजगारलाई काम, बिपन्नलाई सहयोगलगायतका प्रतिवद्धता पूरा गर्न स्वतन्त्रले मात्र सक्ने भएकाले झापा क्षेत्र नं. ४  बाट “लौरो ” चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार  युक्तप्रसाद भेटवाल र प्रदेशसभा सदस्य पदका उम्मेद्वार केशव बजगाईलाई मतदान गर्न आग्रह गरे ।

हाम्रो नेपाली पार्टीका केन्द्रीय प्रवक्ता रोहन कार्कीले हाम्रो नेपाली पार्टीसँग सहकार्य गरी झापा क्षेत्र नं. ४  बाट “लौरो ” चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार  युक्तप्रसाद भेटवाल र प्रदेशसभा सदस्य पदका उम्मेद्वार केशव बजगाई निर्वाचनमा होमिएकाले उनीहरुलाई जिताउन आफूहरुको साथ र सहयोग रहने बताए ।

स्वतन्त्र नागरिक कार्यसम्पादन समूहका संयोजक तथा निर्वाचन परिचालन समितिका संयोजक शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समानुपातिक तर्फका उम्मेद्वारहरु लक्ष्मीप्रसाद गुरुङ, हरी धिमाल, मोहन राजवंशी, विनिशा मुर्मूलगायतको सहभागिता रहेको थियो ।   कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव चन्द्रमोहन उप्रेतीले गरेका थिए ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर