Aamsanchar

“अहँ, हुँदै हुँदैन, मेरी छोरी त्यै काँकरभिट्टाको केटालाई दिन्छु”

Author Image
शनिवार, माघ २२, २०७३

नम्रता उपन्यासको अंश


[कृष्ण अविरल]

परेवाहरु उत्साहका साथ उड्न थालेका थिए आकाशमा । मौसमले न्यानोपन भर्न थालेको थियो बतासमा । कुनै कमी आएको थिएन खडानन्दको घरको आँगनमा फुल्ने पारिजातको सुवासमा ।


मात्र परिवार, छिमेकी र आफन्तजनले नम्रतालाई हेर्ने दृष्टि फेरिएको थियो ।
उता नम्रताले मनमा आशाको मधुरो दियो बाल्दै पहिलेजस्तै रुपमा फेरि उभ्याउने प्रयत्न गरिरहेकी थिइन् आफूलाई । विचलित मनस्थितिलाई सम्हाल्दै । आफ्नो विगतलाई बिर्सन चाहन्थिन् । परिवारका सदस्यहरुले पहिलेजस्तै टोकसो गर्न थाले भने त्यसलाई सहेर पनि आफ्नो भविष्य बनाउन चाहन्थिन् । उनीहरुले भनेबमोजिमै बन्देजमा बसेर भए पनि आफ्नो पढाइलाई निरन्तरता दिने निर्णयमा पुगेकी थिइन् उनी ।
राँचीबाट फर्केपछि दैनिकीमा सुधार आएको थियो उनको । स्वाभाविक बनेकी थिइन् उनी । अरुहरुले पनि आफूप्रति बिरामी हुनुभन्दा पहिलेजस्तै सामान्य व्यवहार गरुन् भन्ने ठान्थिन् उनी । आफूलाई सामान्य मान्छेजस्तै मान्थिन् उनी ।
परिवारका सदस्य, छरछिमेकी र आफन्तहरु उनको मनोभावना बुझ्दैनथे । उनलाई विशेष दृष्टिले हेर्थे । अलि सतर्कताको व्यवहार गर्थे । उनका प्रत्येक पाइलाको चाल, बोली र व्यवहारको ख्याल राख्थे । थाहा नपाउने गरी उनका बारेमा साउती स्वरमा कुरा गर्थे ।
तर उनी चिबेचरोजस्तै चलाख थिइन् । घरमा कसैले आँ गर्नासाथ अँगार भन्न खोजेको हो कि आँगन भन्न खोजेको हो थाहा पाइहाल्थिन् । उनीहरुको व्यवहार र परिस्थितिले उनलाई उमेरभन्दा निकै बाठी बनाइसकेको थियो ।
मानसिक बिरामीलाई परिवारजनले गर्ने त्यसखालको व्यवहारले उल्टो असर पु¥याउँछ । म त बिरामी रहेछु भनेर ख्याल हुनेबित्तिकै उनीहरुले सताउने व्यवहार गर्न शुरु गरिहाल्छन् । जानाजान । त्यसैले त्यस्ता बिरामीलाई बढीभन्दा बढी व्यस्त हुने परिस्थिति सिर्जना गर्नुपर्छ । अलिकति पनि फुर्सत हुन दिनुहुन्न ।
यस्ता कुरा खडानन्दजस्ता बुझक्कीलाई कसले बताइदिने ?
उनी त त्यस बेला अर्कै सुरमा थिए । जतिसक्तो चाँडो छोरीको बिहे गरिदिने ।
“मानसिक रोगबाट छोरी सधैँका लागि मुक्त होस् भन्ने चाहनुहुन्छ भने एउटा कुटुम्ब खोजेर जतिसक्तो चाँडो उसको बे गर्दिनोस्,” कसैले उनलाई सुझाव दिएको थियो, “उसले मन परा’को केटोबाट मन अन्यत्र मोडिदिएपछि सब कुरा ठीक हुन्छ । तपैँलाई पनि ढुक्क हुन्छ । छोरीको जात हो, सदैँ घरमा राख्ने कुरा हुँदैन । एक दिन त बे गरेर दिनैपर्छ ।”
खूब घत प¥यो उनलाई त्यो सुझाव । त्यही बेलादेखि उनी उपयुक्त केटो खोज्न लागिपरे । बेलबारी, बिजनबारी, बुट्टाबारी, बेर्नाबारी, दानाबारी, खुदुनाबारी, आयाबारी, धुलाबारी, डाँगीबारी, पुहातुबारी, उर्लाबारी, अँठियाबारी, हल्दीबारी, कोरोबारी, केराबारी, तोरीबारी, ताराबारी, भाङबारी अनेक ठाउँमा खबर पठाए । आइतबारे, सोमबारे, मङ्गलबारे, बुधबारे, बिहीबारे, शनिश्चरे मात्र होइन इलामको शुक्रबारेसम्म सूत्र भिडाए । नागरडुब्बा, घैलाडुब्बा, टाँगनडुब्बा, ग्वालडुब्बा आदितिर भाइ धर्मानन्द डुले । पेल्टीमारी, पाठामारी, चप्रामारी, डुँडामारीसम्मका ठाउँका चिनारुकहाँ चहारे । भेटेसम्मका आफन्त र मनले खाएका साथीभाइहरु सबैसँग कुटुम्ब बनाउन लायक केटाको कुरो कोट्याए । तेलपानी, लालपानी, चिसापानी, राँगापानी, धारापानी, जरुवापानी, जुरोपानी आदितिर नन्दिनी पुगिन् । दिनरात दौडधुप गरे, फागुन–चैतको उखर्माउलो गर्मीसमेत नभनी । मकै गोड्ने, पाटा छर्नेलगायतका काम हली, खेतालाहरुको जिम्मामा छाडेर ।
नभन्दै फेला प¥यो । कलबलगुडी घर भएका एकजना पञ्च साथीको माध्यमबाट । काँकरभिट्टामा । असमको कोक्राझारबाट आएको त्यस केटाका काका पर्दा रहेछन् ती पञ्च । तीन पुस्ता टाढाको नाताबाट ।
खित्रिङमित्रिङ सामानसहितको सानोतिनो किराना दोकान थापेर बसेको त्यस केटाका आफन्त पानीघट्टा, सतिघट्टा र इँटाभट्टामा पनि रहेछन् । बाबुआमा नभएको टुहुरो । पढाइ उतैको म्याट्रिक पास । दाजुभाइ चाहिँ उतै आसामतिर भएका ।
केटाका कुरा त अरुअरु पनि आएका थिए । कालेबुङ, कोल्बुङ, कन्याम, केरखा, केचना र कुमरखोदबाट पनि केटो हेर्न आउनका लागि खबर पठाएका थिए । बेलडाँगी, बाहुनडाँगी, सहरेडाँगी, खयरडाँगी, खुट्टेडाँगी आदिबाट आफन्तहरुले कुरो ल्याएका थिए । खडानन्दले कुटम्ब खोजेपछि सहयोग गर्नेहरुको के कमी ?
तर उनलाई कोव्रmाझारबाट आएर काँकरभिट्टामा बसेकै केटालाई कुटुम्ब बनाउन उचित हुन्छ जस्तो लाग्यो । कतिपय केटा उनका नजरमा जँच्तै जँचेनन् । कतिपयका चाहिँ कुरा उनलाई पच्तै पचेनन् ।
किनकि नेपालका केटालाई कुटुम्ब बनाउँदा विगतका बारेमा कसै न कसैले बताइदिएर छोरीको जीवन बर्बाद बनाइदिन सक्थ्यो ।
यति सोच्नासाथ उनले आफ्ना वरिपरि दुश्मनैदुश्मन मात्र देखे । चोरले प्रत्येक झाडीमा पुलिस देख्छ भनेजस्तै भयो उनलाई पनि । अगाडि पर्दा चेब्रे घसेर कुरा गर्ने अनि पछाडि पर्नासाथ उछित्तो काढ्न शुरु गरिहाल्नेहरुका अनुहार सम्झन थाले । आफूले गरेको प्रगति देखी नसहेर जग्गा कमाउनेहरुलाई उचाल्दै हिँड्नेहरुको समेत याद आयो । हिजो आफूले आधार दिएर बाँच्न सक्ने बनाएकाहरुले गरेको खेदोपाइलो सम्झेपछि त खडानन्दलाई भाउन्न होलाजस्तो भयो ।
“अहँ, हुँदै हुँदैन, मेरी छोरी त्यै काँकरभिट्टाको केटालाई दिन्छु ।” उनको आत्माबाट आवाज आयो ।
नेपालमा टेक्ने समाउने गतिलो आधार नभएको, स्थानीय समाजका धेरैसँग सम्पर्क नभएको केटालाई कुटुम्ब बनाउन पाए छोरीको भविष्य बढी सुरक्षित हुन्छ भन्ने आस उनलाई लागेको थियो । भोलि आफूले आधार दिएर पनि गरिखाने बनाउन सकिन्छ भन्ने विश्वास जागेको थियो ।
खबर पाउनासाथ केटो आयो । केटी हेर्न । उनै काका पर्ने आफन्त र अर्को एकजनालाई लिएर । गहुँगोरो वर्ण, औसतभन्दा अलि चुच्चो नाक, निधारको दाहिने भागमा सानो खत । झट्ट हेर्दा पनि केटो नराम्रो थिएन ।
चैतको मध्यतिरको समय थियो । खडानन्द आँगनमा आइपुग्दा उनीहरु पसिनाले खलखली भएका थिए ।
खडानन्द दम्पतीले राम्रै स्वागत सत्कार गरे । शुरुमा निबुको रसको चिसो सर्बतपानीले । त्यसपछि मासुसहितको पकवानले ।
कसैसँग केही काम लिनु छ भने सबैभन्दा पहिला नुन भएको कुरा खुवाउनुपर्छ– खडानन्दलाई विश्वास थियो, नुन खाएपछि मान्छेले गुन तिर्छ तिर्छ । तिरेन भने त्यस नुनले ऊ आफैँलाई पिर्छ ।
कुरा सकारात्मक रुपमा अघि बढ्यो । खडानन्दलाई केटो आफूले अनुमान गरेभन्दा धेरै सोझो र भलाद्मी लाग्यो । यत्तिको केटो उम्काउनै हुँदैन भन्ने निष्कर्षमा उनी पुगे ।
केटो र उसको साथीले एक झलक केटीको अनुहार हेर्न खोजे ।
(मञ्जरी पब्लिकेसनले हालै बजारमा ल्याएको उपन्यास नम्रताको अंश ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)